163Shares

पोखरा, ७ साउन । तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गरेकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याएकी छन् ।

यस वर्ष उनका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ ।
समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ ।
देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उनले भनेकी छन्,
“आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ॥”
देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उनी गीतमा भन्छिन् ।
“नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ॥
तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग उल्लेख गर्दै भन्दै उनले,
“शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानीसँग सातु लिएर ॥
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ॥” भनेकी छन् ।
देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा
“बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ॥
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ॥”
भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने भन्दै उनले,
“सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा ।
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ॥” भनेकी छन् । उनका यी गीत उनी स्वयम्को ‘चन्द्रावती वाग्ले’ नामक युटुव च्यानलमार्फत गीतसहितको म्युजिक भिडियो हेर्नसकिन्छ ।
शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको गीतको एरेन्ज कृष्ण पुनले, सम्पादन शिवराज भुर्तेलले गरेका छन् । गीतमा कोरस स्वर रुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको भने म्युजिक भिडियोको मिक्सिङ साजन शाहले गरेका छन् । वसन्त चालिसेको निर्देशन रहेको गीत म्युजिक बैंकमा रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गरेका छन् ।


उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ । काठमाडौंमा लुटिएका जमिनहरूको सरकारीकरण र साँघुरा बाटाहरू फराकिलो पारिएको भन्दै गीतमा,
“लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।
साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ॥” उल्लेख छ ।
प्रत्येक वर्ष नयाँ नयाँ गीतका साथ देखिने वाग्लेले अघिल्लो वर्ष कृषि प्रधान देश, फेरी पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याएकी थिईन् ।
पहिलोपटक वि.सं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा-भाग एक, गरिन गुनासो, जागिरे नारी-भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरी सकेकी छन्। साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आएकी वाग्लेका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रुपमा सेवारत वाग्ले कस्केली अधिकृत समाजको कार्यसमिति सदस्य सहित विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल छन् ।

163Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected