
पोखरा । पोखरा महानगरपालिका क्षेत्रका अगुवा महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी तालिम दिइएको छ । मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशको आर्थिक सहयोग तथा नेपाल महिला संघ पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा आईतवार एक दिवसीय कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको हो ।
महिलामा लगानीः सभ्य समुन्नत समाजको थालनी, भन्ने मूल नाराका साथ नेपाली काँग्रेसका संस्थापक नेता वी. पी.कोईरालाको ४२औं स्मृती दिवसको अवसरमा आयोजित कानुनी सचेतना कार्यक्रममा महिला तथा सिमान्तकृत समुदायका महिलाको सहभागिता रहेको नेपाल महिला संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति अम्विका ढुंगानाले जानकारी दिईन् ।
गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरञ्जिवी शर्मा र न्यायधिवक्ता लाल प्रसाद लामिछानेले सहजीकरण गर्नु भएको तालिममा व्यक्तिको परिवार तथा समुदायमा देखापरेको कानुनी अड्चन तथा भोगेका समस्यालगाएतका विषयहरूलाई समेटिएर तालिम प्रदान गरिएको ढुंगानाले बताईन् । तालिममा थाहा पाएका कानुनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्ठ्यारामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि उजुरी गर्न सक्ने बिषय पनि समेटिएको थियो ।

समापन कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महिला संघ कास्कीका सभापति मिना पाण्डे, महिला संघ महानगर समितिका सचिव कल्पना थापालगायतका वक्ताहरूले आफ्नो धारण राखेको कार्यक्रममा महानगरका ३३ वटै वडाका करिव ९० जना महिलाको उपस्थिति रहेको थियो ।






