पोखरा । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडिपीको साझेदारीमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयन हुन लागेको हो ।
परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ ।
ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरूलाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताउनुभयो ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । यस परियोजना अन्तरगत एक कोसेली घर समेत निर्माण हुनेछ ।