विपद् प्रतिकार्यका लागि अमेरिकाले सेनालाई नयाँ हेलिकप्टर खरिदमा सहयोग
- August 16, 2024
- 684
पोखरा भ्यूज
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई नयाँ हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । उसले विपद् प्रतिकार्यका लागि प्रयोग हुने हेलिकप्टर खरिदका लागि नेपाली सेनालाई सहयोग गर्ने भएको हो । सैनिक स्रोतका अनुसार, अमेरिकाले वैदेशिक सहायता शीर्षकमा यो सहयोग गर्न लागेको हो ।
अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो ।
यसपटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको उनले बताएका हुन् । रिचार्डले नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित विपक्षी दलका नेताहरुसँग समेत भेट गरेका थिए ।
उनले नेपाल भ्रमणका क्रममा एमसीसी परियोजनाको उपलब्धिबारे एनसीसी परियोजना कार्यान्वयन गर्ने नेपालस्थित कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेका थिए । एमसीसीमा भएको छोटो बैठकमा परियोजनाको प्रगति र चुनौतीका विषयमा छलफल गरेका थिए ।