भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा पोखरामा कथक नृत्य प्रस्तुत
- August 20, 2024
- 720
पोखरा । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास, काठमाण्डौले पोखरामा कथक नृत्य प्रस्तुत गरेको छ । सोमवार पोखरा इभेन्ट सेन्टर पोखरा–६, बुलौदीमा दुतावासले ७८औं स्वतन्त्रता दिवसको अवसरमा अर्पिता दत्त र भारतबाट आएको उनको समूहले कथक नृत्य प्रस्तुत गरेको हो।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता, प्रदेशका सामाजिक बिकास एवं स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालगाएत अतिथिका उपस्थित रहेका थिए ।
त्यस्तै, काठमाण्डौस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखर, भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेल पोखरास्थित विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति साथै नागरिक समाजका सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए ।
मुख्यमन्त्री पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य, भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखर र भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्निेन्ट कर्णेल प्रशान्त सिहं बघेलले नेपाल भारतको सदियौंदेखि सम्बन्धको बारेमा चर्चा गरेका थिए ।
काठमाडौँस्थित भारतीय दूतावासले हरेक वर्ष स्वतन्त्रता दिवसको अवसर पारी विभिन्न कार्यक्रम गर्दै आएको छ । उत्सवको एक हिस्साको रूपमा रहेको कथक नृत्य प्रस्तुति नेपालका अन्य चार प्रमुख सहरहरूमा प्रस्तुत गरिने कार्यक्रम अन्तर्गत पोखरामा नृत्य टोलीले आफ्नो कला प्रस्तुत गरेको भारतीय पेन्सन वितरण केन्द्र पोखराका जनसम्पर्क अधिकृत भारतभूषण पाण्डेले जनाए ।
पाण्डेका अनुसार अर्पिता र उनको टोलीले प्रस्तुत गरेको कथक नृत्यले कार्यक्रममा उपस्थित सबैले मनोरञ्जन लिएका थिए ।