काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविधपक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय विदेश सचिव विक्रम मिश्री, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत रहेका थिए। त्यस्तै नेपाली पक्षबाट भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भ्रिगु ढुंगानालगायत रहेका थिए।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन्। ‘नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,’ मन्त्री राणाले भनेकी छन्।

त्यस्तै भारतसँग व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका समग्र पक्षको समीक्षा भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्रलगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास परराष्ट्र मन्त्री राणाको छ। ‘भारतीय विदेशमन्त्री एस जयशंकरसँग आज नयाँदिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसीसहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थपबलियो बन्ने अपेक्षा मैले गरेको छु,’ भेटपछि मन्त्री राणाले भनेकी छन्।
भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा पाँच दिने भ्रमणमा आइतबार नयाँ दिल्ली गएका हुन्। उनको यो पहिलो विदेश भ्रमण पनि हो। उनी भदौ ६ गते स्वदेश फर्किनेछिन्।
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुई दिने भ्रमणका गरेका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि भारतको तर्फबाट मिश्रीको भ्रमण भएको थियो।

