गण्डकीमा सामसुङका मोबाइल विक्रि बन्द, १० प्रतिशत नाफा दिन माग

पोखरा । गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष उदय बहादुर केसी (लाहुरे दाई) ले सामसुङले निकै कम मार्जिन दिएका कारण आफुहरुले विरोध स्वरुप मोबाइल विक्रिमा बन्द गरेको बताए ।
‘हाम्रो माग १० प्रतिशत सम्म मुनाफा दिनुपर्छ भन्ने छ । सुदुरपश्चिममा भएको सामसुङ मिटमा हामी सामसुङ व्यवसायीहरुले माग राख्न खोज्दा परमोर्टरले वेवास्ता गरे’ उनले भने, ‘मार्जिन बढाएमा हामी विक्रि गर्छौ । राज्यले पनि २० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ । तर, हामीले ४ प्रतिशत मात्रै पाउँछौ यो ज्यादै कम छ ।’ उनका अनुसार आर्थिक मन्दीका कारण व्यवसायमा निकै गिरावट आइरहँदा घर भाडा र कर्मचारी पाल्न मुस्किल भएको छ ।
गण्डकीमा पाँच हजार मोबाइल व्यवसायी रहेका छन् । देशभर ३३ हजार व्यवसायी छन् जसले एक लाख बढिलाई रोजगार दिएका छन् । नाफाको दर नबढाए एक लाख मानिस वेरोजगार हुने र विदेश जान बाध्य हुने उनले बताए । आफुहरुको माग पुरा नभए थप आन्दोलन गर्ने उनले बताए । सामसुङका सेवाग्राहीलाई यसले असर गरेपनि रोजगार पाएका लाखौं युवाका लागि प्रभाव पार्नेछ । सामसुङ मोबाइलले दिनमै एक करोड रुपैयाँ भन्दा बढीको कारोवार गर्दै आइरहेको छ ।





