पोखराको महेन्द्रपुलमा निर्मित फल्चाको उद्घाटन

पोखरा । पोखराको व्यस्त बजार महेन्द्रपुलमा निर्माण गरिएको फल्चाको उद्घाटन गरिएको छ । संविधान दिवसको सन्दर्भ पारी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विहिवार आयोजित एक समारोहबीच लायन्स पार्कमा झण्डोतोलन, फल्चाको उद्घाटनसहित पार्कको साँचो हस्तान्तरण गरेका हुन् ।
पार्कभित्र नेवारी संस्कृति झल्कने फल्चाको समेत निर्माण गरिएको छ । पार्कमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त १९३ देशका झण्डा, पोखरा महानगरपालिका, लायन्स अन्तर्राष्ट्रिय, संयुक्त राष्ट्रसंघ, एनआरएन समेत गरी २०१ वटा झण्डा समेत राखिएको छ ।
अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लबहरुले झण्डै ७० लाखसहित ८० लाख रुपैयाँ खर्च भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमको सहयोगमा उक्त पार्क निर्माण भएको हो । आधुनिक सौचालय र पार्क निर्माणका लागि एनआरएनको सहयोगमा करिव एक करोड़ र फल्चा निर्माणकालागि महानगरबाट १७ लाख तथा स्थानीयको सहयोगीदताबाट २२ लाख रुपैयाँ लागत रकममा निर्माण कार्यमा लगाइएको महानगरले जनाएको छ ।
पार्क निर्माण पक्षले पार्क व्यवस्थापनका लागि पार्कको साँचो सहित स्वामित्व पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । महेन्द्रपुलमा करिव ४० को दशकमा बनेका आर्ट ग्यालरी र पुस्तकालय भत्काएर पार्क निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले विश्वभरका झण्डा राखिएपछि महेन्द्रपुल पर्यटकीय गन्तव्य बनेको दाबी गरे । पोखरा आउने विभिन्न देशका पर्यटकले आफ्नो देशको झण्डामुनि बसेर फोटो खिच्ने उनको भनाइ छ। ‘यूएनमा आवद्ध भएका सबै राष्ट्रका झण्डा भएका पार्क यहाँ मात्रै छ । यस्तो अरु कुनै पनि देशमा छैन’, मेयर आचार्यले भने, ‘अब विदेशबाट आउने पर्यटकले आफ्नो देशको झण्डा हेरेर गौरव गर्नेछन् । पोखराको पर्यटन प्रचार प्रसारमा सहयोग पुग्नेछ ।’
मेयर आचार्यले भने, ‘अब पोखराका स्कुलमा पढ्ने विद्यार्थीले यहाँ आएर देश, देशका झण्डाबारे विस्तृत रुपमै थाहा पाउनेछन्’, उनले भने । पार्क करिब डेढ रोपनी क्षेत्रफलमा बनेको छ ।
मेयर आचार्यले झण्डा पार्कसंगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसेप्ले लगायतका संरचना संगै रहेको जानकारी दिए । फाउन्टेनसहित फल्चा पार्क बनाएपछि त्यसले पनि महेन्द्रपुलको सौन्दर्य अझै बढ्नेछ ।
कुनै बेला पत्रपत्रिकाका लागि चर्चित बनेको महेन्द्रपुलमा ‘डिजिटल’ समाचार पढ्न सकिने व्यवस्था गरिएको छ। अब पार्कमा जानेहरुले पार्कभित्र राखिएको डिजिटल बोर्डमा आफैं आफ्नो रुचिअनुसार वेबसाइट सर्च गरेर समाचार पढ्न सकिने मेयर आचार्यले बताए ।
‘अब हामी पनि विस्तारै डिजिटलाइज्ड हुँदैछौं । यो ठाउँमा कुनैबेला बिहानै समाचार पढ्नेहरु जम्मा हुन्थे’, मेयर आचार्यले भने, ‘अहिले पनि हामी प्रकाशित हुने सबै पत्रिका यहाँ राखेका छौं त्यसबाहेक डिजिटल रुपमा अनलाइनबाट खबर प्राप्त गर्ने सुविधा छ । ४ सय जना एकैसाथ अटाउने दाबी गरिएको उक्त झण्डा पार्कमा २ वटा डिजिटल बोर्ड राखिएको छ । जसमा पार्क पुग्नेहरुले आफ्नो रुचिअनुसार खबर प्राप्त गर्न सक्ने मेयर आचार्यले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए । विश्वका सबै राष्ट्रको सार्बभौमलाई झण्डाले सम्मान गरेको उनको धारणा छ । झण्डा पार्कले विश्वाका जोसुकै मानिसका लागि यहाँ आउँदा देशप्रति सम्मान भाव प्रकट गराउने उनले उल्लेख गरे ।
पोखरा महानगरपालिकाका सल्लाहकार परिषदका संयोजक आनन्दराज मुल्मीले पोखरा शहरलाई जीवन्त शहरको रूपमा विकास गर्न राजनीति दवाब र पहुँचको अभाव रहेको बताउदै संघिय सरकारलाई दवाब दिन सबै सरोकारवाला एक ठाउँमा रहन आवश्यक रहेको आशय व्यक्त गरेका थिए ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले महानगरका प्रत्येक वडामा सबै जातजातीकाको पहिचान हुनेगरी संस्कृतिको संरक्षण गर्ने खालका संरचना बनाउनु पर्ने बताए । पोखरा–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले वडामा बनेको यो संरचना महानगरको गौरवपूर्ण सम्पत्ति बनेको उनले बताए । मर्सानीले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको यो अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बानियाँले पोखराको फालिएको ठाउँमा राम्रो सम्पदा बनेको बताउदै पोखरा आफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको बताए ।
महेन्द्रपुलको आर्ट ग्यालरी र पुस्तकालयसहितको भवन बनाउने भन्दै पोखरा पृथ्वीचोकस्थित ट्राफिक कार्यालय भत्काएको १ वर्ष बितिसक्दा पनि उक्त योजना पूरा हुन सकेको छैन । निकट भविष्यमा निर्माण गरिने गरी प्रक्रिया अघि बढ़ाईएको महानगरले जनाएको छ ।























