
पोखरा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा पोखरामा दुई दिने निर्माण व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
असोज ७ र ८ गते सम्पन्न भएको प्रशिक्षणमा १६० जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव डम्मरराज ढकालले जानकारी दिए ।
प्रशिक्षणमा नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष आङ्गदोर्जि लामा शेर्पा, उपाध्यक्ष खिमप्रकाश मल्ल र महासचिव रोशन दाहाल लगाएतले निर्माण व्यवसायिहरुको कार्यदक्षता अभिवृद्धि गर्न तथा निर्माण कार्यलाई व्यवस्थित र सरल ढंगले सम्पन्न गर्ने हेतुले तालिम आयोजना गरिएको बताएका थिए ।
निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा ई. केशवराज आचार्यले सहजीकरण गरेका थिए । प्रशिक्षक आचार्यले निर्माण सम्बन्धी समस्या, वर्तमान चुनौतीका साथै विविध पक्ष बारे जानकारी दिनुको साथै कर सम्बन्धि जानकारी गराएका थिए ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय सदस्य शुरेश श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष टंकराज बराल, संघका कास्की उपाध्यक्ष ई. शिरस बास्तोला लगाएतले बोलेका थिए ।













