पोखरा भ्यूज
२१ कार्तिक, पोखरा । पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न विभिन्न तीनवटा क्लबले आकस्मिक रक्तदान गरेका छन् ।लायन्स क्लब अफ पोखरा फरक अभियान, पोखरा युथ र लियो क्लब अफ पोखरा फरक अभियानले बुधवार पोखराको महेन्द्रपुलमा विहान ७ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम संचालन गरेका थिए ।
प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले पहिलो रक्तदाता डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रममा ५१ प्रिण्ट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा फरक अभियानका अध्यक्ष आदर्श मोहन भट्टराईले जानकारी दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताए । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकताको आधारमा आकस्मिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको कारण क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन भएको थियो ।
क्लबका अध्यक्ष आदर्श मोहन भट्टराईको अध्यक्षता, डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारी, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट एक्जुकेटिभ (मिडिया एण्ड पब्लिकेसन्स्) टंकराज अधिकारी, क्लबका जोन चेयरपर्सन हरिहर पराजुली, लायन्स क्लब अफ पोखरा युथका अध्यक्ष सुवर्णराज पन्त, लियो क्लब अफ़ पोखरा फरक अभियानका अध्यक्ष सन्दीप लामिछाने, क्लबका पूर्व अध्यक्ष, क्लब पदाधिकारी सदस्य लगाएत डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थिति रहेको फरक अभियानका सचिव बिजय खनालले जानकारी दिए ।