कस्मिक एकेडेमीले वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी कर्मचारीलाई निशुल्क कम्प्युटर तालिम प्रदान गर्ने
- November 27, 2024
- 1989

पोखरा भ्यूज
पोखरा । कस्मिक कम्प्युटिङ्ग एकेडेमीले प्रहरी कर्मचारीको लागि निशुल्क कम्प्युटर सम्बन्धि तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।
एकेडेमीले प्रहरी कर्मचारीहरुको लागि कम्प्युटर तालिम संचालन गर्नको लागि वडा प्रहरी कार्यालय बैदाम कास्की बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
बुधवार कस्मिक कम्प्युटिङ्ग एकेडेमी न्यूरोड–९ पोखराका संचालक पुरुषोत्तम कुँवर र वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलावीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यालयलाई स्मार्ट अफिसका रुपमा विकास गर्न साथै कार्यालयको सबै किसिमको कार्यहरु डिजिटलाईज हुँदै गईरहेको परिप्रेक्षमा अब सबै प्रहरी कर्मचारीहरु प्रविधिमैत्री हुने उदेश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सुचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गर्न यो सम्झौता गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।
उनले भने, ‘आम जनमानसलाई प्रहरी सेवा प्रभावकारी ढंगबाट उपलव्ध गराउन सूचना प्रविधिको आजको युगमा बैदाम प्रहरीलाई पनि सूचना प्रविधिको क्षेत्रमा अझबढी सशक्त र समयानुकुल बनाई प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अतिनै आवश्यक रहेकोछ ।’
कम्प्युटर सम्बन्धी ज्ञान नभएका र सामान्य ज्ञान भएका प्रहरी जवान देखी प्रहरी अधिकृत सम्मका प्रहरी कर्मचारीहरुलाई लक्षीत गरी तालिम संचालन गरिने एकेडेमीका संचालक पुरुषोत्तम कुँवरले बताए । तालिममा कम्प्युटर सम्बन्धी आधारभुत कोर्ष, एडभान्स कोर्ष, साईवर सुरक्षालगाएतका कोर्ष संचालित हुनेछन् ।
डिजिटल प्रविधिको विकासले आज क्षणभरमा नै जस्तो सुकै कठिन काम पनि तत्काल पुरा गर्न सकिने भएको छ । आजको युगमा प्रविधिको प्रयोगबिना नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुन्धान कार्यमा दक्षता हासिल गर्न नसक्ने भएको हुँदा नेपाल प्रहरीको उक्त लक्ष्यलाई पुरा गर्न यस वडा प्रहरी कार्यालय बैदाम र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिको सम्बन्धमा सामान्य ज्ञान र शिप दिलाउने उद्देश्यका साथ कस्मिक कम्प्युटिङ्ग एकेडेमीले नि:शुल्क रुपमा कम्प्युटर कक्षा संचालन गर्न लागिएको कुँवरले बताए ।










