१४औं एन प्याव्सन खेलकुद महोत्सव मंसिर २५ देखि
पोखरा भ्यूज
पोखरा । एन–प्याव्सन कास्कीको आयोजनामा १४औं नेशनल प्याव्सन खेलकुद महोत्सव–२०८१ हुने भएको छ।
‘नेशनल प्याब्सन कास्कीको इच्छा-विद्यालय तहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सव मंसीर २५ देखि २८ गते सम्म संचालन हुने एन प्याबसनद्वारा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो।
मंसीर २५ गते औपचारिक उद्घाटन हुने भएपनि २१ गते देखि नै प्रतिस्पर्धा शुरु हुने एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय खेलाडी विद्यार्थी सहभागी बन्ने अपेक्षा गरिएको छ। जस अनुसार करिब ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा रहने बुझिएको छ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउने छन।
त्यसैगरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राहरु प्रतिष्पर्धामा सहभागी बन्ने छन् । चार दिनसम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जना विद्यार्थीहरू पुरस्कृत हुनेछन । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्राको ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जुनियर छात्र–छात्रा (१–७ कक्षा ) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेनए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मंसीर २१ गतेदेखि खेलहरू सुरु भई मंसीर २५ गते पोखरा रङ्गशालामा प्रतियोगिताको समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष अधिकारीले भने, ‘शारीरिक विकास विना मानसिक विकास सम्भव नहुने र त्यसका लागि खेलकुद अपरिहार्य रहेको कुरालाई मध्यनजर गर्दै संस्थाले आफ्नो स्थापनाकालदेखि प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।’
प्रतियोगिता सम्पन्न गर्न हेमन्त अधिकारीको संयोजकत्वमा मूल समिति, प्रेमराज अधिकारीको संयोजकत्वमा प्रचार प्रसार, कमल बहादुर मल्लको संयोजकत्वमा मार्च पास, अर्जुनप्रसाद पाण्डेको संयोजकत्वमा छात्र फुटबल र हिमाल गुरुङ छात्रा फुटबल, वेदकुमार श्रेष्ठको संयोजकत्वमा बास्केटबल, शिवराज पौडेलको संयोजकत्वमा टेबुलटेनिस, प्रकाशराज वाग्लेको संयोजकत्वमा भलिबल, ज्ञानेन्द्रबहादुर थापाको संयोजकत्वमा व्याडमिन्टन, रमेशराज पौडेलको संयोजकत्वमा क्रिकेट, अर्जुनप्रसाद अधिकारीको संयोजकत्वमा ह्याण्ड बल, विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ११, १२ फुटसल, केशवशरण पौडेलको संयोजकत्वमा एथलेटिक्स/सडकदौड उपसमिति गठन गरिएको छ ।
त्यसैगरी हरिराज अधिकारीको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन, दिपु भारीको संयोजकत्वमा मञ्च सजावट साउण्ड सिष्टम, हेमन्त अधिकारीको संयोजकत्वमा न्यायिक छानविन तथा निर्णायक मनकाजी गुरुङको संयोजकत्वमा पुरस्कार व्यवस्थापन, युवक लामिछानेको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, प्रेमराज अधिकारीको संयोजकत्वमा सचिवालय, राजु केसीको संयोजकत्वमा खाना खाजा पानी तथा अतिथी व्यवस्थापन, राजु कायस्थको संयोजकत्वमा खेलकुद समन्वय तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सदस्य शिवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबीच एन प्याव्सन कास्कीले ट्रफीको अनावरण गरेको छ । १४ औं खेलकुद महोत्सवमा च्याम्पियन विद्यालयलाई प्रदान गर्ने रनिङ शिल्डको अनावरण गरिएको हो ।
रनिङ शिल्डको प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष धोज कुमार गुरुङ र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा अनावरण गरेका हुन् । चाँदी जडित उक्त रनिङ शिल्ड १ लाख २५ हजार रुपैयामा बनेको अध्यक्ष अधिकारीले जानकारी दिए।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष गुरुङले खेल क्षेत्रमा एन प्याव्सनले पुर्याएको योगदान अतुलनिय रहेको बताए ।
‘खेलाडी उत्पादन गर्ने ठाँउ नै विद्यालय हो, तपाईहरुले गरेको यो महोत्सवले देश र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडि निकाल्न सकोस्’ उनले भने, ‘तपाईहरुले गरेका खेलकुद गतिविधिमा समन्वय गरेर जानेछौ ।’
२०५५ सालमा स्थापना भएको एन प्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् ।