
पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद साउद (एनपी साउद)ले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशद्वारा आयोजित वर्तमान शिक्षा प्रणालीमा देख़िएका विसंगति र निराकरणका उपाएहरू बिषयक अन्तरक्रिया कार्यक्रममा नेता साउदले उक्त कुरा बताएका हुन् ।
संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको भन्दै केही कुराहरू स्थानीय तह अनुसार फरक फरक गर्न पाउने व्यवस्था पनि छ, राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनु पर्ने बताए ।
पाठ्यक्रमहरू पनि जीवन उपयोगी र समय सापेक्ष टेक्नोलोजी अनुसार हुनुपर्ने र विद्यालय स्थानीय तहमै हुने भएकोले केही केही अधिकार स्थानीय तहमै गएको नेता साउदको भनाई थियो ।
पूर्व परराष्ट्र मन्त्री समेत रहेका नेता साउदले भूगोल र बिषयगतका आधारमा विश्व बिधालय हुनुपर्ने कुरामा पनि जोड दिएका थिए ।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको बताउदै बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन उनले आग्रह गरेका थिए ।
आधारभूत तहमा बेस्ट टिचर चाहिएको छ जस्ले बाल मनोबिज्ञान बुझ्न सकोस् उनीहरूको चाहना बमोज़िम सिकाई होस् भन्ने भनाई राख्दै संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको छ अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने भनाई राखेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले शिक्षा राज्यको दायित्व भित्र पर्ने बताउदै निःशुल्क तथा अनिवार्य शिक्षा भन्दै गर्दा राज्यसँग निःशुल्क शिक्षा दिनसक्ने आर्थिक क्षमता छ कि छैन भन्ने पनि विचार गर्नुपर्ने भनाई राखेका थिए । उनले सरकारले कस्तो शिक्षालाई निःशुल्क बनाउने भन्ने कुरा देशको आर्थिक क्षमतामा भर पर्ने पनि बताएका थिए ।
नेता भट्टराईले पढ़ेका जति विदेश जाने भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यो सरासर ग़लत भएको भन्दै सम्पन्न मुलुकका बिधार्थी उच्च शिक्षा अध्ययनका लागि अर्को मुलुकमा जाने गर्छन् हामी कहाँ पनि विश्वबिधालय राम्रो बनाउन सक्यौं भने विदेशबाट पनि पढ़न आउछन् ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले शिक्षण सिकाई अहिलेको समय सापेक्षर बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका महत्वपूर्ण रहने बताए ।
प्रजातन्त्रवादी प्राध्यापक गण्डकी प्रदेशका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रम शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले सहजीकरण गरेका थिए ।
प्राध्यापक डाक्टर कुशुमाकर न्यौपानेले विषय बस्तुमा उठान गरी सुरू भएको अन्तरक्रिया कार्यक्रममा पोखरा विश्वबिधालयका डिन डा. अजय थापा, गण्डकी प्रदेश शिक्षा महानिर्देशक अम्बिका आचार्य, प्रजातांत्रिक बिचार समाजका अध्यक्ष डा. बिर बहादुर कार्की, पब्लिक क्याम्पस संघका सल्लाहकार बेदहरि तिमिल्सिना, शिक्षक महासंघका अध्यक्ष भोला नाथ पौडेल, डिएलए कास्कीका निवर्तमान अध्यक्ष कपिलमणि दाहाल, बिधार्थी नेता प्रयास कोईरालालगाएतले नेपालको शिक्षाको विकासमा आम जनताको अपनत्व, स्वामित्व, शिक्षाको सुधार वा विकासका बारेमा आ–आफ्ना भनाई राखेका थिए ।











