
पोखरा भ्यूज

पोखरा । शितलादेवी सामुदायिक माविको ६० औं वार्षिकोत्सव समारोहमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल सम्मानित भएका छन् ।

पोखरा–१२ स्थित उक्त बिधालयको ६०औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका बसेललाई सम्मान गरिएको हो । उनीसँगै अर्का विद्यालय व्यवस्थापन समितिका सदस्य किरण केसीलाई पनि सम्मान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य मन बहादुर गुरूङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर कार्कीलगाएतले विद्यालयको भौतिक संरचनामा सहयोग जुटाउन महत्वपूर्ण पहल गरेकोमा समितिका सदस्यद्वय बसेल र केसीलाई सम्मान गरिएको बिधालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताए ।
समारोहमा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले गुणस्तरीय शिक्षा आजको माग रहेको उल्लेख गरे । उनले शिक्षक, अभिभावक र विद्यार्थीको लगनशीलताबाट नै सामुदायिक विद्यालयमा शीतलादेवी सर्वोत्कृष्ट हुनु सफल भएको बताए । साथै, उनले आफू पनि विद्यालयको लागि केही गर्न तत्पर रहेको र विद्यालयको थप संरचना निर्माणमा सहयोग जुटाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले विद्यालयमा साझा प्रयासबाट नै शैक्षिक सफलता प्राप्त हुने बताए । विद्यालयका सल्लाहकार डा. अनिल सुवेदीले सफलताको भागिदार सबै भएको उल्लेख गरे ।
शिक्षक अभिभावक संघ अध्यक्ष नरेन्द्रप्रसाद आचार्यले दरबन्दी अभावमा समेत राम्रो नतिजा ल्याउन विद्यालयसफल भएको उल्लेख गर्दै शिक्षक दरबन्दी बढाउनु पर्ने माग गरे ।
अभिभावकतर्फबाट पोखरा–१२ का वडा सदस्य रजनी परियारले सरकारीमा पनि रोजा विद्यालय भएकै कारण आफ्ना छोराछोरी यसै विद्यालयमा पढाएको जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य एवं सम्मानित ब्यक्तिव रामबहादुर बसेलले बिधालयको भौतिक संरचना निर्माणमा सहयोग जुटाउन सफलता मिलेको बताउदै सामाजिक प्रगतिमा सदैव साथ रहने बताए ।
त्यस्तै, अर्का सम्मानित व्यक्तित्व केसीले आफ्नो ब्यवासायिक जीवनसँगै सामाजिक कार्यमा जुटि रहदाँ सानो प्रयासहरुलाई पनि सकारात्मक मुल्यांकन गरिदा छुट्टै किसिमको आनन्द मिल्ने बताए ।
अध्यक्षको आसनबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले थप संरचना निर्माणका लागि प्रमुख अतिथि कास्की क्षेत्र १ का सांसद गुरुङसमक्ष मागपत्र प्रस्तुत गर्दै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
विद्यालय प्राचार्य बाबुराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एसइई तथा दश जोड दुईमा समेत ९८ प्रतिशत सफलता प्राप्त भएको उल्लेख गरे ।
कार्यक्रम सञ्चालन विद्यालयका सूचना अधिकारी रामचन्द्र अधिकारीले गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।





