
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता डा.प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा काँग्रेस नभएको बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान’ को आज पोखरामा उद्घाटन गर्दै उनले पूर्व पदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र काँग्रेसको आलोचना भैरहेको र यस्ता कुरामा पछि नलाग्न आग्रह गर्दै कागले कान लग्यो भनेर कान नछामी कागको पछि दगुर्न नहुने बताए ।
आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिदै उनले युवाहरूलाई स्वदेशमा नै उपयोग हुने गरी यही अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए । कृषिमा आधारित उद्यमशीलता बृद्धि गरिनुपर्ने आवश्यकता औंल्याउँदै डा.महतले सूचना प्रविधिको विकास र उपयोगमा पनि जोड दिनु पर्ने बताए ।
नेपाली काँग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले काँग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशाका कुरा बढी हुने गरेको बताए ।
काँग्रेस नेतृत्वमा भए गरेका कामको प्रचार हुन नसकेको बताउँदै उनले पार्टीका नेता कार्यकर्ता आँफैं आँफैंमा एकले अर्कालाई आलोचना गर्ने प्रबृत्ति बढीरहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीमा आन्तरिक अनुशासन हराउँदै गएको बताउँदै पाटीमा अनुशासन कायम गराउनका लागि आचर संहिता राख्नुपर्ने आवश्यकता औंल्याए । काँग्रेस ने्तृत्वमा भए गरेका कामको स्वेतपत्र लिएर जनतामाझ जानुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको इतिहासलाई पूर्णता दिन जरुरी रहेको बताए । संविधान निर्माणका सन्दर्भमा व्यक्त अभिमतलाई आत्मसात गर्न नसकिएको उनले बताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यतालाई आत्मसात गर्न नसक्दा त्यसले पार्टीलाई कमजोर बनाउने बताउँदै त्यसतर्फ गम्भीर बन्न आग्रह गरे ।
कार्यक्रममा काँग्रेसको इतिहास र पार्टी नेतृत्वमा भए गरेका तथ्यगत विवरण सम्बन्धमा डा.जगत नेपाल र हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू शारदा पौडेल, आङगेलु शेर्पा, गुरू बराल, सीता देवकोटा, सरस्वती अर्याल कास्की जिल्ला सभापति किशोरदत्त बराल, तनहु जिल्ला सभापति जितप्रकाश आले, केन्द्रीय प्रचार विभागका सदस्य एवम् कार्यक्रम संयोजक गंगाधर पराजुली लगायतले युवाहरूको बढ्दो विदेश पलायनलाई रोक्ने र यही अवसरहरू सिर्जना गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।





