
काठमांडौं । पद्माकन्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी नेबिसङ्घकी नेतृ भुपि ऐर स्ववियु अध्यक्षमा बिजयी भएकी छन् । नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र सम्पन्न भएको थियो ।
पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा विहिवार सम्पन्न स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेद्वार भुपेश्वरी ऐर(भूपी)ले नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार पुर्णिमा परियारलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
परियार सभापति शेरबहादुर देउवा निकट हुन् भने ऐर महामन्त्री गगन थापा निकट छिन् ।
नेविसंघ भित्र आन्तरिक विवादका कारण दुईजना उम्मेदवार भएपछि अखिल क्रान्तिकारी गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।
तर, अखिलको गठबन्धन सहित सङ्गठनको आधिकारिक उम्मेदवारलाई समेत हराउँदै उनी बिजयी भएकी हुन्।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।
यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मतसहित निर्वाचित भएका छन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।












