
पोखरा, २४ चैत । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला आजदेखि सुरु भएको छ ।
‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले चिया खेतीका कारण मिनि इलामका रुपमा परिचित ल्वाङ गाउँमा आँर्फैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुुभयो । युवा सकृयतामा विगत लामो समयदेखि चैते दशैँ मेला आयोजना गरिदै आइएको उल्लेख गर्दै आम युवामाझ सकारात्मक सोचको अभिबृद्धि बर्तमानको आवश्यकता भएको बताउनुभयो ।
हाम्रो अपेक्षा विद्यमान सिमित स्रोतसाधन भन्दा बढी भएका कारण सबै समस्या एकैपटक समाधान हुन सम्भव नभएको भन्दै उहाँले समयसँगै समस्याहरु क्रमशः समाधान हुँदै जाने बताउनुुभयो ।
देशमा केही भएन भन्ने भन्दा पनि भइरहेका काम हेरेर हामी स्वयम् सकारात्मक बन्न जरुरी रहेको र युवामा सकारात्मक सोच निर्माण गर्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।
पोखराबाट करिब २४ कि. मि. को छोटो दुरीमा अवस्थित पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ आन्तरिक साथै वाह्य पर्यटकहरूको गन्तब्य भएको उहाँले उल्लेख गर्नुुभयो ।
यस क्षेत्रका पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने मन्त्री केसीको भनाइ छ ।
पर्यटकीय गाउँहरू धम्पुस र ल्वांगलाई मितेरी सम्बन्ध लगाउन चालु आ.ब.मा घट्टेखोला धम्पुस सडकको ठेक्का व्यवस्थापन भएर सम्झौता भईसकेको जानकारी दिदै उहाँले अब छिट्टै नै घट्टेखोला धम्पुस सडकमा निर्माण व्यवसायीले कार्य आरम्भ गर्ने र यी दुई गाउँको भगिनी सम्बन्ध स्थापित बन्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको जानकारी दिनुुभयो । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उहाँले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि सुझाउनुुभयो ।
ग्रिन हिल क्लबका अध्यक्ष सुजन गुरुङले गाउँको पर्यटन प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिनुुभयो ।
उक्त अवसरमा ल्वाङ गाउँमा प्राचीन कालदेखि सञ्चालन हुँदै आएको कटुवाल प्रथालाई निरन्तरता दिन आफ्नो जीवनको ५५ वर्ष समय योगदान गर्नुुभएका ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र प्रदान गर्दै मन्त्री केसीले सम्मान गर्नुुभएको थियो । उक्त अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दानगर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतम, लगायतले बोल्नुुभएको थियो ।
आगामी चैत २७ गतेसम्म चल्ने मेलामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता लगायत विभिन्न सांकृतिक कार्यक्रम हुने जनाइएको छ ।
सडक उद्घाटन
मन्त्री केसीले आजै भाङखोलादेखि ल्वाङसम्मको नवनिर्मित बाटोको उद्घाटन गर्नुुभयो । गण्डकी प्रदेश सरकारको करिब पाँच करोडको रुपैयाँको लागतमा उक्त क्षेत्रमा पहिलो चरणमा एक हजार २४ मिटर ढलान बाटो निर्माण गरिएको हो । मन्त्री केसीलाई खोराको मुख क्षेत्रका स्थानीयले मर्दी खोलामा ल्वाङ खोराको मुखबाट र रिभान जोड्ने ७० मिटर लामो प्रस्तावित सडक पुल निर्माणका लागि बजेट सुनिश्चित गरी प्रक्रिया अघि बढाइएको भन्दै स्वागत समेत गरेका थिए ।











