
अन्नपूर्ण, कास्की । स्वस्थ मुटु नेपालले मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वस्थ मुटु नेपालको आयोजना अन्नपूर्ण गाउँपालिका कास्की र टाईगर ग्रुप अफ नेपालको सहयोगमा अन्नपूर्ण गाउँपालिका–२, कास्कीको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरू गरी प्रतिनिधिमूलक रूपमा १२० जनाको सहभागिता रहेको थियो । अन्य सहयोगीमा अन्नपूर्ण म्याराथन-२०८२, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, होटल पिस प्लाज़ा, खाना नफालौं नेपाल रहेका थिए ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्ज अन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटाद्वारा मुटु स्वस्थ कसरी राख्न सकिन्छ भन्ने बिषयमा अभिमुखीकरण गराएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका डा. देवकोटाले खानपानमा नियन्त्रण र जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिने भनाई राखेका थिए ।

उनले संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटु रोग देखिएको बताउदै किन बढ्दै छ मुटु रोग ? यसका लक्षण के हुन्? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ ? के हो हृदयघात? यसलाई कसरी कम गर्न सकिन्छ ? मुटुको रोगमा कस्ता खाना खाने वा नखाने ? मुटु रोग कति प्रकारका हुन्छन् ? मुटुको सुरक्षा कसरी गर्ने ? भन्ने विषयमा अभिमुखीकरण गराएका थिए ।
स्वस्थ्य मुटु नेपालका उपाध्यक्ष भरतराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीले अभिमुखीकरण कार्यक्रममा पालिकाभित्र रहेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरूलाई प्रतिनिधिमूलक रूपमा अभिमुखीकरण कार्यक्रममा बोलाईएको बताउदै यस्को सकारात्मक सन्देश सबै ठाउँमा पुर्र्याउन सहभागीलाई आग्रह गरेका थिए ।
त्यस्तै, बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव झलकराम अधिकारीले डा. देवकोटा अन्नपूर्णको गहना रहेको बताए । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले गरेका थिए ।


