4Shares
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन सहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष निकालिएको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म) का सुत्केरी महिला र नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकाहरूलाई निरन्तर हेरचाह सहित स्वास्थ्य सेवा, खोप तथा पोषण सम्बन्धी सम्पूर्ण व्यवस्थापनमा निकै प्रभावकारी देखिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो परियोजना पाइलोटिङ्को रूपमा सफल भएकाले यसलाई महानगरपालिका भरि नै लागु गरिने बताउनुभएको छ । महानगरपालिका क्षेत्रभरिका लक्षित वर्गहरूले यसको सुविधा प्राप्त गर्ने व्यवस्थाको आवश्यक प्रबन्धका लागि महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो ।
महानगर क्षेत्रको मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने योजना सहित महानगरपालिकाले स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु समेत परिचालन गरी नगरवासीको स्वास्थ्य सुरक्षा लक्षित यस प्रकार परियोजनाहरूको निरन्तरतामा जोड दिनुभयो ।
उपप्रमुख मन्जुदेवी गुरुङले महिला तथा नवजात शिशु र बालबालिकाहरूको स्वास्थ्य सुरक्षा निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनका लागि नागरिक स्तरमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । यसका लागि विभिन्न प्रकारका शिक्षा तथा जानकारीमूलक हातेपुस्तिकाहरु, सचेतनामूलक प्रचार सामाग्री र महिला तथा बाल शिक्षाका पर्याप्त प्रशिक्षणहरू आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले यो परियोजनाले सकारात्मक नतिजाहरू दिएकाले यसको निरन्तरतामा जोड दिनुभयो ।
परियोजना अन्तरगत महिलाहरूको गर्भावस्था, प्रसव अवस्था, सुत्केरी अवस्था, नवजात शिशु र यो सबै अवस्थाको नियमित परीक्षण तथा चेकजाँचको रेकर्ड कार्ड समेत तयार गर्ने गरिएको महानगरपालिकाकी वरिष्ठ र्नसिङ्ग निरीक्षक सवना श्रेष्ठले बताउनुभयो । परियोजना सञ्चालनमा जापानका विशेषज्ञ तथा प्रतिनिधहरुको महत्त्वपूर्ण सहयोग रहेको छ ।
4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected