महिला मात्रको लायन्स क्लब गण्डकीद्वारा क्यान्सर पहिचान गर्न निःशुल्क परीक्षण सम्पन्न
- July 5, 2025
- 1530

पोखरा । महिला मात्रको क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले महिलाहरूको लागि क्यान्सर रोग एवं पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण गराएको छ ।
शनिवार पोखरा–१७, ड्यामसाईड स्थित बिभूति हेल्थ केयर प्रालिमा आयोजित निःशुल्क परीक्षण कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बिभूति हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

गण्डकीसहित पोखरास्थित अन्य लायन्स क्लबहरू पोखरा युनाइटेड चौतारी, सेती दोभान र गण्डकी युथको सहकार्यमा सम्पन्न परीक्षणमा ४६५ जनाले सेवा लिएको आयोजक लायन्स क्लब अफ पोखरा गण्डकीका सचिव शारदा शर्माले जानकारी दिईन् ।
लायन्स क्लब अफ पोखरा गण्डकीका निवर्तमान अध्यक्ष एवं जोन १६ का जोन चेयरपर्सन जुना पोखरेल पन्तको अध्यक्षता लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ तथा बिभूति हेल्थ केयर प्रालिका संस्थापक डा. नारायण गौतम लगाएतको उपस्थिति रहेको थियो ।
उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले महिलाहरुले लाज मानेर आफ्ना समस्या खुलेर नभन्ने प्रबृत्ति रहेको बताउँदै महिलाहरुलाई निर्धक्कका साथ आफ्नो पाठेघर परीक्षण गराई स्वास्थ्य अवस्थाका बारेमा बेलैमा जानकार रहन आग्रह गरेकी थिईन् । उनले विश्वको पहिलो महिला मात्रको क्लब गण्डकीले अहिलेको समसामयिक अवस्थामा अत्यन्त सर्हानिय र उत्कृष्ठ कार्य गरेकोमा धन्यवाद दिदैं समाजलाई आवश्यकता अनुसारको सेवा दिन सफल भएकोमा प्रशंसा गरेकी थिईन् ।

शिविरमा ईसिजी सेवा, भिड़ियो एक्सरे, विभिन्न रक्त परीक्षण, पिसाव परीक्षण, क्यान्सर रोग, पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण, क्यान्सर रोकथामका उपाएका साथै अन्तरक्रिया समेत गरिएको कार्यक्रमका संयोजक लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष उषा गौतमले जानकारी दिईन् ।
शिविरमा १९ वर्षका किशोरीदेखि ६५ वर्षका महिलाका लागि शिविर सञ्चालनमा ल्याइएको गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्यले बताईन् । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा पर्छ । शिविरले महिलालाई स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमै क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामका लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षण गर्न प्रोत्साहनका लागि शिविर संचालन गरिएको शाक्यले बताईन् ।
डा. सुदीप श्रेष्ठसहित डा. पुजन बाटाजु, डा. बिकास शाहलगाएतले क्यान्सर रोग सम्बन्धी र डा. अन्जु श्रेष्ठलेगाईने सम्बन्धी परीक्षण गरेका थिए ।









