डिएलएलआई: नेतृत्व, साथीत्व र सेवाको जीवन्त पाठशाला


पोखरा, भाद्र १८ । समाजसेवामा समर्पित व्यक्तित्वलाई अझ सक्षम, संगठित र प्रेरणादायी नेतृत्वकर्तामा रूपान्तरण गर्ने लक्ष्यसहित पोखरामा सम्पन्न भएको डिष्टिक्ट लायन्स लिडरशिप इन्स्टिच्युट (डिएलएलआई) सहभागीहरूका लागि जीवनभरी सम्झनलायक बनेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालद्धारा आयोजित तीन दिने यस इन्स्टिच्युटमा ९३ जना क्लब अध्यक्षहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमार्फत सहभागीलाई क्लब सञ्चालन, सहकार्यमा आधारित नेतृत्व, दीर्घकालीन समाजसेवा दृष्टि र टोली निर्माण गर्ने सीप सिकाइएको थियो । प्रशिक्षकहरूले व्यवहारिक अभ्यासदेखि लिएर जीवन दर्शनसम्मका विषयहरू प्रस्तुत गरेका थिए ।

पोखरामा सम्पन्न यस इन्स्टिच्युटले धेरै सहभागीहरूको जीवनमा नयाँ अध्याय थप्यो । तर तीमध्ये पनि दुई व्यक्तित्व विशेष रूपमा पहिचानित भए (महिलातर्फ श्वेता बजाज र पुरुषतर्फ करण कँडेल) जसले यसपटकको डिएलएलआइ स्टार उपाधि हात पारे ।
प्रस्तुत छ, डिएलएलआई स्टार श्वेता बजाज र करण कँडेलको अनुभव
श्वेता बजाज : सेवासँगै सशक्त नेतृत्वको यात्रा
लायन्स क्लब अफ काठमाडौंको चेतनाका संस्थापक अध्यक्ष श्वेता बजाज लामो समयदेखि सामाजिक सेवा, महिला सशक्तीकरण र शैक्षिक क्षेत्रमा सक्रिय रहेकी छन् । समाजसेवाप्रति उनको समर्पणलाई डिएलएलआई तालिमले अझै प्रष्ट दिशा दिएको अनुभव उनले सुनाईन् ।
उनी भन्छिन्,“यी तीन दिनको डिएलएलआइ तालिम मेरो जीवनकै अविस्मरणीय अङ्ग बन्यो । यसले मलाई नेतृत्व, सहकार्य र सेवामा अझ सशक्त बनाएको छ । म अब केवल आफ्नो क्लबमा मात्र होइन, समुदायमा समेत महिला नेतृत्वको पहिचान बलियो बनाउन मदत पुर्र्यायो ।”
बजाजका अनुसार तालिममा भएको समूहगत अभ्यास, सहकार्यको वातावरण र व्यवहारिक प्रशिक्षणले उनलाई संगठनात्मक कामलाई अझ व्यवस्थित बनाउने ऊर्जा दिएको छ । विशेषगरी, आत्मविश्वासका साथ बोल्ने कला र टीमवर्कमा आधारित निर्णय क्षमताले आगामी दिनमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन प्रेरणा दिएको उनले बताईन् ।
करण कँडेल : गाउँदेखि नेतृत्वको शिखरसम्म
लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष करण कँडेल ग्रामीण समाजमा सामाजिक सेवा र नेतृत्व विकासमा सक्रिय युवा हुन् । डिएलएलआई स्टार घोषित भएपछि उनले आफ्नो भाव व्यक्त गर्दै भने, “हामी अध्यक्षहरू काँचो माटो जस्तै थियौँ, यो तालिमले खारेर सुदृढ बनायो । पाएको ज्ञान गुन साथीहरूसँग बाँड्ने मेरो प्रतिबद्धता छ ।”
उनी ग्रामीण क्षेत्रमै बसेर पनि प्रभावकारी नेतृत्व कसरी गर्न सकिन्छ भन्ने उदाहरण हुन् । करणका अनुसार, डिएलएलआइ तालिमले सेवालाई सहकार्यसँग जोड्ने दृष्टि दिएको छ । उनले सिकेका सीपहरूलाई गाउँ–गाउँमा समाजसेवाको अभियानमा उतार्ने योजना बनाएका छन् ।
श्वेता बजाज र करण कँडेल दुवैको अनुभव एउटै बिन्दुमा भेटिन्छ : नेतृत्व भनेको एक्लै होइन, सहकार्यमा आधारित यात्रा हो । समूहगत अभ्यासले उनीहरूलाई अझै स्पष्ट सन्देश दिएको छ, सेवा स्थायी बनाउन सहकार्य अपरिहार्य छ ।
डिएलएलआइ तालिमले दिएको अनुभव उनीहरूको व्यक्तिगत मात्र नभई संस्थागत भविष्यसँग पनि जोडिएको छ । श्वेताले महिला नेतृत्वलाई अगाडि ल्याउने संकल्प लिएकी छन् भने करणले गाउँस्तरमै नयाँ पुस्तालाई नेतृत्व सिकाउने योजना बनाएका छन् ।
डिएलएलआई स्टारको उपाधि उनीहरूको लागि केवल एउटा सम्मान मात्र होइन, जिम्मेवारी पनि हो । सहभागीहरूको भनाइमा, यी दुई नेतृत्वकर्ताले भविष्यमा आफ्ना क्लबलाई मात्र होइन, सम्पूर्ण लायन आन्दोलनलाई पनि थप सशक्त र प्रेरणादायी बनाउन योगदान दिने अपेक्षा गरिएको छ ।
श्वेता बजाजका लागि यो यात्रा महिला नेतृत्वको प्रतिनिधित्व गर्ने बाटो हो भने करण कँडेलका लागि ग्रामीण समाजमै परिवर्तन ल्याउने प्रेरणा हो । दुवैजनाले पाएको ज्ञान–अनुभवलाई व्यवहारमा उतार्न सके, डिएलएलआईको वास्तविक सफलताको प्रतिफल समाजमै देखिनेछ ।
लायन्स क्लबको मूल दर्शन हामी सेवा गर्छौ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न सक्षम नेतृत्व अपरिहार्य हुन्छ । डिएलएलआईले सहभागीहरूलाई केवल संगठनभित्रका जिम्मेवार व्यक्तिमात्र नभई समुदायकै प्रेरणादायी अगुवा बन्ने दिशामा सक्षम बनाएको छ ।
“नाच्दै–गाउँदै–रमाउँदै सिक्ने” शैलीमा सम्पन्न डिएलएलआईलाई सहभागीहरूले नेपालकै उत्कृष्ट नेतृत्व तालिममध्ये एकका रूपमा व्याख्या गरेका छन् । यो केवल साधारण तालिम नभई नेतृत्व, साथीत्व र सेवाको जीवन्त प्रयोगशाला हो । यसबाट प्रशिक्षित नेतृत्वकर्ताले आफ्नो क्लबलाई मात्र होइन, सम्पूर्ण समुदायलाई समेत नयाँ दिशा दिने अपेक्षा गरिएको दुवैको मिश्रित भनाई छ ।
समूहगत खेल, छलफल र अभ्यासहरूले विश्वास, आत्मबल, सहयोग र सहिष्णुतामा आधारित टोली निर्माणमा मद्दत पु¥याएको अनुभव सुनाउदै एक्लै गरेको सेवा सीमित हुन्छ, तर सहकार्यमा आधारित सेवा नै स्थायी हुन्छ” भन्ने सन्देश दिएको डिएलएलआइ स्टारको बुझाई छ ।





