लेउवा संघमा नयाँ नेतृत्वको लागि जानुका समुहको प्रतिबद्धता : डिजिटलाइजेसनदेखि उद्यमशीलता प्रवर्द्धनसम्म


लेखनाथ, कास्की । लेखनाथ उद्योग वाणिज्य संघ १५औं अधिवेशन र २९औं वार्षिक साधारण सभाको तयारीमा छ। अधिवेशनलाई लक्षित गर्दै जानुका पराजुली अधिकारी समूहले हालै २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ, जसले संघलाई अझ व्यवस्थित, प्रविधिमैत्री र व्यवसायमैत्री बनाउने दाबी गरिएको छ।

उम्मेदवार समूहले व्यवसायीबीच एकता, आत्मविश्वास र परिपक्व नेतृत्वको आवश्यकता औंल्याउँदै रुपा, मादी र साविक लेखनाथका सम्पूर्ण व्यवसायीलाई एउटै छातामुनि एकीकृत गर्ने लक्ष्य प्रस्तुत गरेको छ। उनीहरूले संघलाई केवल विकासका हावादारी भाषण होइन, नीति र समाधानमुखी संस्थाको रूपमा अघि बढाउने स्पष्ट प्रतिवद्धता जनाएको छ।

समूहले पहिलो चरणमै संघलाई डिजिटलाइजेसनतर्फ अघि बढाउने योजना सार्वजनिक गरेको छ। संघमा आवद्ध ८ वस्तुगत, ५० एसोसियट र १९६१ साधारण गरी जम्मा २०१९ सदस्यको विस्तृत अभिलेखीकरण गर्ने र सबै सदस्यलाई डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरिएको छ। यससँगै सदस्यता नवीकरण प्रक्रियालाई अनलाइनमार्फत सहज बनाइने उल्लेख छ।
यस कदमलाई व्यवसायीहरूले दीर्घकालीन आवश्यकताको रूपमा लिएका छन्। व्यवस्थापन प्रणाली प्रविधिमैत्री बनेपछि सदस्य संख्या, कारोबार, योगदान र अन्य विवरण पारदर्शी मात्र नभई सहज रूपमा उपलब्ध हुने उम्मेदवारहरूको तर्क छ।
प्रतिवद्धता पत्रमा उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। तीनै तहका सरकारसँग समन्वय गरी स्वरोजगार र उद्यमशीलतालाई लक्षित तालिम सञ्चालन गर्ने योजना अघि सारिएको छ। यसैअन्तर्गत परियोजना तयारी सहायता कक्ष स्थापना गर्ने र नयाँ व्यवसायीलाई परियोजना तयार गर्न सहयोग गर्ने भनिएको छ।
त्यसैगरी, सिप तथा रोजगार बैंक स्थापना गरी दक्ष जनशक्तिलाई उपयुक्त अवसरसँग जोड्ने र लगानीकर्तासम्म पुर्याउने घोषणा गरिएको छ। नयाँ विचारलाई मूर्तरूप दिन आईडिया बैंक को अवधारणासमेत प्रतिवद्धतामा समावेश छ।
उम्मेदवार समूहले “Made in Nepal” अवधारणालाई प्राथमिकतामा राख्दै लेखनाथलाई उत्पादनमुखी क्षेत्रको रूपमा विकास गर्ने दाबी गरेको छ। यसका लागि कृषकका उत्पादनलाई ब्रान्डिङ, प्याकेजिङ र प्रचार–प्रसारमार्फत बजारमा पु¥याउने योजना अघि सारिएको छ।
संघले विगतदेखि सञ्चालन गर्दै आएको लेखनाथ महोत्सवलाई परिमार्जित र व्यवस्थित गर्ने घोषणा गरिएको छ, जसले स्थानीय उत्पादन र सेवा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै हस्तकलाका सामग्रीमार्फत संघको पहिचान जोड्ने गरी कोसेली घर स्थापना गर्ने प्रतिवद्धता पनि सार्वजनिक गरिएको छ।
लेखनाथ क्षेत्रमा उद्योग र लगानीको सम्भावना उच्च रहेको उम्मेदवारहरूको ठहर छ। उनीहरूले पोखरा महानगर–३३ र शुक्लागण्डकी–९ मा अवस्थित पूँडिटार प्रदेश औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याउन तीनै तहका सरकारसँग समन्वय गर्ने वाचा गरेका छन्।
त्यसैगरी, व्यवसायमैत्री कर नीति र लगानीका अवसरबारे विशेष कार्यक्रम सञ्चालन गर्ने, Shark Tank Nepal सँग सहकार्य गर्दै पूँजी र परियोजना प्रवर्द्धन गर्ने, तथा राष्ट्रिय स्टार्टअप नीति २०७९ अन्तर्गत नवप्रर्वदक उद्यमीलाई पूँजी र बजार पहुँच उपलब्ध गराउने योजनासमेत प्रतिवद्धतामा समेटिएको छ।
लेखनाथ क्षेत्र पर्यटनका लागि सम्भावनायुक्त गन्तव्य हो। उम्मेदवार समूहले सात ताललाई PPP मोडेलमार्फत साहसिक पर्यटनसँग जोड्ने, बेगनासताल, वराह मन्दिर, कोट, गुफा, पचभैयाको चिडिया खाना, होमस्टे लगायतका गन्तव्यलाई डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्ने घोषणा गरेको छ।
पर्यटन व्यवसाय सञ्चालनका लागि स्थानीय स्रोत–साधन र लगानीकर्ताबीच सहकार्य गर्ने र यसलाई रोजगारी सिर्जनासँग जोड्ने दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिएको छ।
सडक विस्तारका कारण विस्थापित व्यवसायीलाई नयाँ गन्तव्यमा पुनर्स्थापना गर्न सहजीकरण गर्ने, व्यवसायीका समस्या तत्काल समाधानका लागि रिस्पोन्स टिम गठन गर्ने, र लगानी अवसर पहिचानका लागि आन्तरिक तथा बाह्य भ्रमणको व्यवस्था गर्ने योजना पनि प्रतिवद्धतामा समावेश छ।
यससँगै अवैध रूपमा सञ्चालनमा रहेका पोके तथा फुटपाथ व्यवसायलाई निरुत्साहित गर्ने र व्यवस्थित व्यवसायलाई सहज वातावरण दिलाउने भनिएको छ।
उम्मेदवार समूहले प्रस्तुत गरेको २३ बुँदे प्रतिवद्धता केवल चुनावी नारामा सीमित नभई ठोस कार्ययोजना भएको दाबी गरेको छ। प्रतिवद्धता पत्रमा भनिएको छ, “हामी विकासका हावादारी कुरा गर्दैनौं, नीति र समाधानकाकुरा गर्छौं। व्यवसायीका समस्या समाधानमा समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्छौं।”
जानुका अधिकारीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन्। कार्यसमितिका सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी उम्मेदवार छन्।
त्यस्तै, एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल (निर्विरोध), महिला सदस्यतर्फ शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार उम्मेदवार बनेका छन्।





