
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना पोखराको सिटी स्क्वायर बैंक्वेटमा आठौं बृहत् शैक्षिक मेला आज (शुक्रबार)देखि पोखरामा सुरु भएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूद मन्त्री बिन्दुकुमार थापाले मेलाको उद्घाटन गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई भविष्यनिर्णयमा सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले शिक्षालाई समावेशी, व्यवसायमुखी र युवा–मैत्री बनाउन सरकार निरन्तर पहलरत रहेको भन्दै मेलाले आशाको दियोको भूमिका खेल्ने उल्लेख गरे।

मेलामा विभिन्न देशका विश्वविद्यालय, कलेज, शैक्षिक संस्थाका प्रतिनिधि, इक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ७० स्टल रहेका छन्।
इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्रेले विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने बताए । उनले मेलाले विद्यार्थीलाई विषय छनोटदेखि विश्वविद्यालय रोज्ने प्रक्रिया सजिलो बनाउन मद्दत गर्ने बताएका थिए ।
मेला संयोजक तथा इक्यान उपाध्यक्ष सन्तोष शाहीले सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहार प्रदान गरिने जानकारी दिए।
टाइम्स एजुकेशनल प्रस्तुतकर्ताको रूपमा रहने मेलामा ब्रिटिस काउन्सिलले सहकार्य गरेको छ भने ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायत संस्थाको सहभागिता छ। बैंकिङ पार्टनरका रूपमा एनएमबि बैंकले सहकार्य गरेको छ।
इक्यान कास्कीले यस मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। दुई दिनसम्म सञ्चालन हुने मेलाले विद्यार्थी र अभिभावकलाई विदेश अध्ययनसम्बन्धी प्रत्यक्ष जानकारीका साथै भविष्यको योजना बनाउन सहयोग गर्नेछ।





