
काठमाडौं । हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार जारी गरेको विज्ञप्तिमा धेरै युवाहरु र केही सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको अवस्थाप्रति पार्टीले गहिरो पीडा व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रवक्ता महतले देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्मविपरीत भएको उल्लेख गर्दै लोकतन्त्रका आधारभूत स्तम्भ—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा समेत आक्रमण हुनु गम्भीर भएको बताएका छन्। साथै, घर–सम्पत्ति, उद्योग–व्यवसाय, सञ्चारगृह लगायतमा भएको क्षति ‘१० वर्षे द्वन्द्वभन्दा बढी’ भएको उल्लेख गर्दै यसले लगानी वातावरणमा समेत ठूलो असर पारेको बताएका छन्।
त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवासहित अन्य नेतामाथि भएको आक्रमणप्रति घोर निन्दा र भर्त्सना गर्दै प्रवक्ता महतले वर्तमान अवस्थालाई राजनीतिक शून्यता र कानुनी अनिश्चितताको संज्ञा दिएका छन्।
उनले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकाय सक्रिय भई शान्ति–सुरक्षा कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै “कानुनी शासन र लोकतन्त्रको विकल्प छैन” भन्दै पार्टीभित्र एकता र आत्मविश्वास जगाउन सबैलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेसले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गरी शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएको छ।











