118Shares

काठमाडौँ । लायन्स अन्तर्राष्ट्रियका नेतृत्वकर्ताहरूले हालैको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नेपाली सपुतहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। लायन्स अन्तर्राष्ट्रियका निवर्तमान अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतान र अन्तर्राष्ट्रिय डाइरेक्टर (इन्डोर्सी) राजन लम्सालले संयुक्त अपिल जारी गर्दै सामाजिक संजाल मार्फत  दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन्।

अपिलमार्फत आन्दोलनमा घाइते भई उपचाररत सबै पीडितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, संकटको घडीमा लायन्स  सधैं अग्रपङ्तिमा रहने स्पष्ट प्रतिबद्धता जनाएका छन् ।

लायन्सले भाद्र २४ गते मङ्गलबारदेखि नै विभिन्न लायन्स क्लवहरू मार्फत  दर्जनौं रक्तदान कार्यक्रम सञ्चालन गरी हजारौं पिन्ट रगत संकलन गरेका छन्। यसमा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र सक्रियतापूर्वक संलग्न रहेको पनि जानकारी गराईएको छ।

त्यसैगरी, भाद्र २५ गतेदेखि आन्दोलनका क्रममा टोल–सहरमा उत्पन्न भएको फोहर हटाउने काममा लायन्स सदस्यहरू जुटेका छन् भने  औषधि र स्वास्थ्य सामग्री वितरणदेखि आवश्यकता अनुसार राहत पुर्‍याउने कार्यसम्म लायन्स निरन्तर तत्पर रहेको संयुक्त रुपमा जारी गरिएको अपिलमा जनाइको छ।

अपिलमा भनिएको छ – “राजनीतिक परिवर्तनको यो क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको छ। पूर्वाधार नष्ट भएका छन्। हाम्रा आफ्नै लायन साथीहरूले समेत ठूलो नोक्सानी बेहोर्नुपरेको छ। कसैले परिवारका सदस्य गुमाएका छन्, कसैको व्यापारिक स्थल, सवारीसाधन वा घर जलेका छन्। सेवा कार्यमै खटिएका लायनहरूमाथि कुटपिटसमेत भएका छन्।”

यस विषम परिस्थितिमा सम्पूर्ण लायन परिवारलाई एकअर्काको सहयोगी बन्न आग्रह गर्दै अपिलमा भनिएको छ –

“मानसिक, शारीरिक वा भौतिक पीडामा रहेका सबै लायन साथीहरूसँग ४६ हजार लायन परिवार सधैं साथमा छ। आवश्यक परे भौतिक तथा आर्थिक सहयोगमा समेत जुट्न सबै सदस्यलाई हार्दिक अपिल गर्दछौं।”

नेतृत्वकर्ताहरूले राष्ट्र पुनर्निर्माणको बेला आउँदा पनि लायन्स सधैं अग्रपङ्तिमा रहँदै आफ्नो दायित्व पूरा गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

118Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected