1Shares

काठमाडौँ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी युवा आन्दोलन’ का क्रममा भएका अप्रिय घटनाको अनुसन्धान गर्न माग गर्दै नेविसंघले काठमाडौँ र ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो।

नेविसंघका अनुसार आन्दोलनका क्रममा विद्यार्थीहरूलाई उक्साउने, आगजनी र तोडफोड गर्ने, राष्ट्रिय सम्पदामा क्षति पुर्‍याउने, साथै सरकारी तथा निजी सम्पत्ति लुटपाट गराउने घटनामा मेयर बालेन र संयोजक गुरुङको संलग्नता भएको आशंका गरिएको छ। ती घटनाको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ।

उजुरीकर्तामा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई आग्रह गरेका छन्।

यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतका विरुद्ध पनि जाहेरी दिएका थिए। त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले समेत उनीहरूविरुद्ध उजुरी दर्ता गरेको थियो।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected