1Shares

काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक रूपमा देखिएका हुन्। बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा त्यसपछि सार्वजनिक रूपमा देखिएका थिएनन्।

नेपाली सेनाले देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाई बुढानीलकण्ठबाट उद्धार गरेको थियो। सेनाले पटक–पटक हेलिकप्टरमार्फत उद्धार प्रयास गरे पनि असफल भएपछि स्थलमार्गमार्फत उनीहरूलाई अस्पताल पुर्याइएको थियो।

सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन। टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको र अहिले स्वास्थ्य सुधार हुँदै गएको नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भ्रष्टाचार अन्त्य गर्नकै लागि आफूले प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको बताए। ‘सामाजिक रूपान्तरणका कामहरूको सुरुवात गर्न पाउँदा गर्व महसुस भएको छ,’ उनले भने, ‘कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि भूमिसुधार र वैज्ञानिक हदबन्दीको जग राख्न पाएकोमा सन्तोष लागेको छ।’

देउवाले जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्यको मागप्रति आफ्नो समर्थन रहेको पनि स्पष्ट पारे। उनले भने, ‘भ्रष्टाचारविरुद्धको आवाज वैधानिक र संस्थागत रूपमा अघि बढाउनुपर्छ। त्यसको लागि म सधैँ प्रतिबद्ध छु।’

पार्टीभित्र समावेशिता र समान अवसरका लागि आफूले काम गरेको देउवाले स्मरण गरे। उनले भने, ‘पार्टीका सबै तहमा महिलाहरू, दलित, जनजाति र पिछडिएका समुदायको सहभागिता बढाउन आरक्षण नीति लागू गरेँ। नेपाली काँग्रेसलाई सबैको पार्टी बनाउने प्रयासमै छु।’

उनले पाँच पटक प्रधानमन्त्री भएको अनुभव बाँड्दै भने, ‘छोटो–छोटो कार्यकालका बीच पनि मैले सुधारका केही स्थायी काम गर्न सकेँ, जसले देशमा संस्थागत परिवर्तनको आधार तयार गर्‍यो।’

सभापति देउवाले सम्पत्तिमा महिलाको हक सुनिश्चित गर्न मुलुकी ऐनको ११ औँ संशोधन गरेको स्मरण गराउँदै दलित, महिला र जनजाति उत्थानका लागि आयोग गठन गरेर संरचनागत सुधार गरेको बताए।

यसैबीच, नेपाली काँग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने संख्या ५४ प्रतिशत पुगेको छ। ४५५६ महाधिवेशन प्रतिनिधिमध्ये २४८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्। महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हस्ताक्षर संकलन गरिएको हो।

पार्टी विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन आव्हान गर्न सकिने व्यवस्था छ। त्यस अनुसार अब पार्टीले विशेष महाधिवेशनको तयारी गर्नुपर्ने स्थिति आएको छ।

सभापति देउवाले भने आगामी १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने अडान दोहोर्याए। ‘घरमा सधैं एउटै मुली रहँदैन, पार्टीमा पनि एउटै सभापति रहिरहँदैन,’ उनले भने, ‘म १५औँ महाधिवेशनबाट विधिवत् रूपमा नेतृत्व हस्तान्तरण गर्छु।’

बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। देउवाले सम्बोधन गरेलगत्तै बैठक स्थगित गरिएको र अबको बैठक खडकाको अध्यक्षतामा बस्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

देउवा स्वास्थ्य उपचारका लागि चाँडै विदेश जाने तयारीमा छन्। जेनजी आन्दोलनपछि लामो समयपछि सार्वजनिक भएका उनले उपचारपछि पुनः राजनीतिक सक्रियता बढाउने संकेत गरेका छन्।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected