नेविसंघद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा १० बुँदे मागपत्र– “दण्डहीनता अन्त्य र पारदर्शिता सुनिश्चित गरियोस्”
- October 16, 2025
- 351

काठमाडौं, असोज ३०। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा १० बुँदे मागपत्र बुझाएका छन्। नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालेद्वारा हस्ताक्षरित उक्त मागपत्रमा हालै Gen-Z पुस्ताद्वारा सञ्चालन गरिएको आन्दोलनका क्रममा उत्पन्न हिंसा, तोडफोड र अन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरिएको छ।
उक्त माग पत्र नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, प्रवक्ता सुरज सेजुवाल लगायत नेताहरूले बिहीबार नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मागपत्रमा सहादत प्राप्त विद्यार्थीहरू प्रति उच्च सम्मान व्यक्त गर्दै, उनीहरूको बलिदानले भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्ने सन्देश दिएको उल्लेख छ। अध्यक्ष शेर्पाले भने —“हामी संविधान र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै शान्तिपूर्ण तर दृढ आन्दोलनको पक्षमा छौं। देशमा दण्डहीनताको अन्त्य र विधिको शासन कायम गर्न प्रहरीको भूमिकालाई अझ बलियो बनाउनुपर्ने बेला आएको छ।”
मागपत्रमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा माथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न जोड दिइएको छ।
त्यसैगरी, आन्दोलनका नाममा सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट, तोडफोड, हतियार लुटपाट र जेल कारागारमा आगजनीजस्ता घटनाहरूमा संलग्नहरूलाई द्रुतगतिको अनुसन्धान गरी दोषी ठहर गर्न माग गरिएको छ।
मागपत्रले विराटनगरको कोईराला निवास, काठमाडौंको गणेशमान सिंह निवास र ललितपुरको बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रममा भएको आगजनी र लुटपाटका घटनाको पनि तत्काल अनुसन्धान माग गरेको छ।
संघले प्रहरी कार्यालयहरूमा भएका क्षति, तोडफोड र भौतिक विनाशको तत्काल पुनर्निर्माण र प्रभावित प्रहरी कर्मचारीहरूको उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ। साथै, प्रहरी संस्थालाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउने दिशामा अघि बढ्न अनुरोध गरिएको छ।
मागपत्रको अन्त्यमा नेविसंघले भनेको छ —“हामी लोकतान्त्रिक माध्यमबाट नै समाधान खोज्न प्रतिबद्ध छौं, तर माग सम्बोधन नभए संघ सडकमा उत्रिन बाध्य हुनेछ।”
नेपाल विद्यार्थी संघले यो घटनालाई राज्यका सबै अंगहरू रूपान्तरण, पारदर्शिता र जवाफदेहितातर्फ अघि बढ्नुपर्ने “गम्भीर सन्देश” का रूपमा व्याख्या गरिएको नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले जनाए।
माग पत्रको पूर्ण पाठ
Nepal_Police_Demand[1]_compressed







सम्बन्धित खवर
















