‘काँग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय राजनीतिक दलहरू मिलेर संवादबाटै समाधान खोजौं’-कांग्रेस नेता गोपालमान श्रेष्ठ
- October 19, 2025
- 207


काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकमा देखिएको राजनीतिक जटिलता समाधानका लागि काँग्रेसको अगुवाइमा राजसंस्थासहित सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले हालका दलहरूले निषेधको राजनीति त्यागी सहकार्यको बाटो समात्नुपर्ने सुझाव दिएका हुन्।

श्रेष्ठले भने, “लोकतन्त्रको नाममा राजनीतिक दलहरूलाई एनजिओहरूले विस्थापित गर्ने प्रपञ्च हुँदैछ। यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामै खतरा उत्पन्न गरिरहेको छ।” उनका अनुसार देशलाई विद्यमान अविश्वास र अस्थिरताबाट निकाल्न राजसंस्था, राजनीतिक दल, नागरिक आन्दोलन र फरक धारका सबै पक्षहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ। श्रेष्ठले राजनीतिक दलहरूले अतीतका गल्तीबाट पाठ सिक्दै समावेशी सहकार्यको राजनीति गर्नुपर्नेमा जोड दिएका छन्।
श्रेष्ठले जेनजी आन्दोलनपछि मुलुक त्रास र आतंकमा रहेको बताउँदै आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि अनुकूल वातावरण बनाउन राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए।
श्रेष्ठले हाल देखिएको संकटको समाधान बाह्य हस्तक्षेपविनै दलहरूबीचको एकताको माध्यमबाट खोजिनुपर्ने धारणा राखे। उनले भने, ‘निषेधको राजनीति त्यागौं, सहकार्य, सहअस्तित्व र संवादबाट अघि बढौं। राजसंस्था, जेनजी आन्दोलन, राजनीतिक दल र फरक मत राख्ने सबै पक्षलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ।’
१२ बुँदे सहमति हस्ताक्षरकर्तामध्येका एक नेता श्रेष्ठले मुलुक अहिले संवेदनशील अवस्थाबाट गुज्रिरहेको बताउँदै कांग्रेसको नेतृत्वमा सर्वपक्षीय भेला गरेर राष्ट्रिय समस्याको समाधान सम्भव हुने दाबी गरे।
उनले तोकिएकै मितिमा फागुन २१ मा निर्वाचन हुनेमा शंका व्यक्त गरे। ‘जेनजी आन्दोलनका घटनाले जनमानसमा डर पैदा गरेको छ। अहिलेको अवस्था हेर्दा चुनाव समयमै हुन्छ भन्नेमा शंका छ,’ उनले स्पष्ट पारे।
श्रेष्ठले कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको परम्परा सुरु गरेको भन्दै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए। ‘देउवाजीले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउनु सकारात्मक कदम हो। देउवाजीपछि मैले पनि कांग्रेसमा धेरै जिम्मेवारी सम्हालेको छु,’ उनले भने।
स्वास्थ्य उपचारका लागि विदेश जानु अघि पत्रकार सम्मेलनमार्फत धारणा राखेको बताउँदै उनले कांग्रेसको नियमित महाधिवेशन अविलम्ब गर्नुपर्नेमा जोड दिए। ‘महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई पनि मैले भनेको थिएँ– विशेष होइन, नियमित महाधिवेशनमा लाग्नुपर्छ,’ श्रेष्ठले स्मरण गरे।
उनले अब कांग्रेस र देश दुवैको नेतृत्व युवाले सम्हाल्नुपर्ने बताए। ‘अब पार्टी र सत्ता युवाकै हातमा जानुपर्छ, तर हाम्रा पनि कुरा सुन्नुपर्छ,’ उनले भने। पार्टीमा ४० देखि ५० प्रतिशतसम्म युवाको सहभागिता हुनुपर्नेमा उनले जोड दिए।
श्रेष्ठले कांग्रेस र एमालेबीचको गठबन्धन राजनीतिक रूपमा गल्ती भएको टिप्पणी पनि गरे। ‘ठूला दलबीचको गठबन्धनले प्रमुख प्रतिपक्ष कमजोर बनायो र देश आजको अवस्थामा आइपुग्यो,’ उनले समीक्षा गरे।
अन्त्यमा उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई राष्ट्रमा देखा परेका समस्याको समाधानका लागि सक्रिय भूमिका खेल्न आग्रह गरे। ‘पूर्णबहादुरजीले आफूलाई किसुनजीको चेला भन्नुहुन्छ, त्यसै अनुरूप अब राष्ट्रको संकट समाधानमा नेतृत्व देखाउनुहोस्,’ श्रेष्ठले भने।






