मन्त्री बन्ने चर्चामा विवादित सुनार : अदालत तोडफोडदेखि सरकारी कर्मचारी कुटपिटसम्म
- October 26, 2025
- 108

काठमाडौँ । अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारको विगत विवादास्पद रहेको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम अनुसार उनीविरुद्धकै मुद्दामा कैद भुक्तान गर्न बाँकी अभियोग रहेको पाइएको छ। प्रहरी प्रधान कार्यालयको चालचलन शाखा स्रोतका अनुसार सुनार हाल पनि फरार अभियुक्तको रूपमा सूचीकृत छन्।

सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको पाइएको छ। सो आदेशमा उनलाई “फरार अभियुक्त” का रूपमा अदालतमा उपस्थित गराउन निर्देशन दिइएको उल्लेख छ। 
उक्त पक्राउ पुर्जी सुर्खेतको गुर्माकोट नगरपालिका–६, मेहेलकुना अस्पतालका प्रमुख डा. सोमनाथ सापकोटाको जाहेरीका आधारमा जारी गरिएको हो। जाहेरीमा सुनारले सरकारी स्वास्थ्यकर्मीलाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
त्यो घटनापछि उनले अदालत परिसरमै गरेको तोडफोड र गैरकानुनी गतिविधिका कारण उच्च अदालत बार एसोसिएसन सुर्खेतले समेत सार्वजनिक रूपमा आपत्ति जनाएको थियो। बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ— “न्यायिक निर्णयप्रति असन्तुष्टि देखाएर अदालतको गेट तोडफोड र हुल हुज्जत गर्नु कानुनविरुद्धको कार्य हो।”
बार एसोसिएसनले न्यायालयको स्वायत्तता र निष्पक्षतामाथि आघात पर्ने गरी हुने गतिविधिप्रति कडा शब्दमा विरोध जनाएको थियो।
सुनारको कानुनी विवाद यत्तिमै सीमित छैन। नवराज विक मृत्यु प्रकरणमा उच्च अदालत सुर्खेतले फैसला सुनाउँदा पनि उनले अदालत परिसरमै हुल हुज्जत मच्चाएका थिए। सो क्रममा उनले न्यायाधीशहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका र अदालतको गेटमा तोडफोड गरेको आरोप छ।
सरकारमा मन्त्री बन्ने चर्चाबीच सुनारमाथि रहेका यी कानुनी विवाद र अदालतबाट जारी पक्राउ पुर्जीहरूले उनको पृष्ठभूमि विवादित बनाएको स्पष्ट देखिन्छ।







सम्बन्धित खवर















