25Shares

काठमाडौं। आठ वामपन्थी दल एकताबद्ध भएर नयाँ राजनीतिक शक्ति निर्माण गर्न लागेका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत दलहरूको पहलमा बन्ने ‘नेकपा समाजवादी’को चुनाव चिन्ह पाँचकुने तारा रहने तय भएको छ।

आइतबार बसेको संयुक्त बैठकले आगामी कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने निर्णयसहित १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ। सहमति पत्रमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूहका चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र नेकपा (माओवादी समाजवादी)का कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा पार्टीको नाम औपचारिक घोषणासम्मका लागि खाली राखिएको छ। तर, चुनाव चिन्ह पाँचकुने तारा रहने उल्लेख छ। नयाँ पार्टीको संगठनात्मक संरचनामा केन्द्रदेखि वडास्तरसम्म संयोजक र सह–संयोजक प्रणाली लागू गरिने सहमति भएको छ।

सहमति अनुसार आगामी छ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली समाजको रुपान्तरणका लागि नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई क्रान्तिको मूल कार्यक्रमका रूपमा अघि सारिने उल्लेख छ।

तर, एकीकृत समाजवादीभित्र भने गम्भीर फूट देखिएको छ। पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता घनश्याम भुसालबीच मतभेद चुलिँदै गएपछि उनीहरू अब पार्टी पुनर्गठनको तयारीमा लागेका छन्।

यसबीच, झाँक्री–किसाल समूह भने एमाले फर्कने तयारीमा रहेको छ। नेता किसालन श्रेष्ठका अनुसार, “रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राईलगायत नेताहरूबीच छुट्टै छलफल भइरहेको छ। वातावरण बने देशभरबाट करिब १०० जना पुराना नेता–कार्यकर्ता एमालेमा फर्कने तयारीमा छन्,” उनले बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो प्रक्रिया नेपालको वाम राजनीतिमा नयाँ पुनर्संरचना र ध्रुवीकरणको संकेत हो। एकातिर माओवादी र समाजवादीबीचको नजिकिँदो सहकार्यले वाम एकताको नयाँ आधार निर्माण गर्ने देखिएको छ भने अर्कोतर्फ, झाँक्री–किसाल समूहको एमालेमुखी धाराले पुरानो एमाले संगठनलाई थप बलियो बनाउन सक्छ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected