मुख्यमन्त्रीको प्रदेशसभा सम्बोधन : “संविधानको स्थायित्व र कार्यान्वयनले मात्रै समृद्धि सम्भव”

पोखरा, कात्तिक २४ — गण्डकी प्रदेशका मुख्यमन्त्रीले देशमा हालैका राजनीतिक घटनाक्रमले प्रदेशसभा र सरकारी गतिविधि प्रभावित पारेको भन्दै शान्ति, पुनर्निर्माण र स्थायित्वका लागि सबै एकजुट हुनुपर्नेबताएका छन्।
शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र सरकारी संरचनामा पुगेको विनाशप्रति दुःख व्यक्त गरे।“संविधानले हामीलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ। संविधानको कार्यान्वयन र स्थायित्वले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ,”
मुख्यमन्त्रीका अनुसार, भदौ २५ गतेको बैठक भवन ध्वस्त भएपछि स्थगित गर्नुपरेको थियो भने असोज २२ गतेका लागि तय गरिएको अर्को बैठक पनि सञ्चालन हुन सकेन।
“पटक–पटकको प्रयासपछि आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक गर्न बाध्य भएका छौं,” उनले भने।
मुख्यमन्त्रीका अनुसार, भदौ २३ र २४ गतेका दिन भएका आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र मात्रै ३ जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मी र आन्दोलनरत पक्ष दुबै गरी ७० जनाभन्दा बढी घाइते भएका छन्।
प्रदेशका ७ जिल्लाका १३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको उनले जानकारी दिए।
त्यस्तै, ३६१ वटा दुईपाङ्ग्रे र १६१ वटा चारपाङ्ग्रे सवारी साधनमा आगजनी, दर्जनौं तोडफोड र हराएको घटनासमेत भएको बताइएको छ।“यसबाट सरकारी संरचना र सवारीसाधनमा करिब दुई अर्ब, निजी क्षेत्रमा करिब तीन अर्ब बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ,”— मुख्यमन्त्रीले भने।
मुख्यमन्त्रीले क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्याङ्कन र स्टिमेट तयार भइसकेको र केही संरचनाको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
उनका अनुसार, सवारी चालक अनुमति पत्र (लाइसेन्स) सर्भर पुनःसञ्चालनपछि सेवा सुरु हुने र कर, दस्तुर तथा शुल्क तिर्न नपाएका नागरिकलाई कात्तिक मसान्तसम्म जरिवाना छुट दिइएको छ।
“नगरी नहुने चालु कार्यक्रम बाहेकका खर्च कटौती गरेर पुनर्निर्माणका लागि स्रोत जुटाउने निर्णय भइसकेको छ,” उनले भने।
पोखरालाई नेपालको पर्यटन राजधानीको रूपमा विकसित गर्ने दीर्घकालीन योजनामा आन्दोलनका कारण वातावरण धमिलिएको भन्दै मुख्यमन्त्रीले निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे।“हजारौं रोजगारी सिर्जना गर्ने निजी क्षेत्रसँग सहकार्य गर्दै सुरक्षित, शान्त र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार सक्रिय रहनेछ,” उनले जोड दिए।त्यस्तै, युवापुस्ताको भावनालाई वैधानिक र लोकतान्त्रिक बाटोबाट सम्बोधन गर्न सबैलाई एकजुट हुन उनले आह्वान गरे।
मुख्यमन्त्रीले हालको चुनौतीलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन राजनीतिक दल र नेतृत्व सबैलाई आग्रह गर्दै भने, “हाम्रो जिम्मेवारी जनअपेक्षा अनुसार पारदर्शी, जवाफदेही र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो।”उनले भ्रस्टाचार अन्त्य, सुशासन र सहज सेवा प्रवाहलाई प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको पुनः दोहोर्याए।“आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेश — सुखी प्रदेशवासी हाम्रो साझा लक्ष्य हो,” मुख्यमन्त्रीको भनाइमा भनिएको छ।








सम्बन्धित खवर
















