0Shares

काठमाडौं। शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसका सबै उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न नेता–कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन्।

निवर्तमान सभापति देउवाले आफूलाई भेट्न निवास पुग्ने निकटका अधिकांश नेता–कार्यकर्तालाई ‘रूख’ चिन्हमा मतदान सुनिश्चित गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दै कांग्रेसको पक्षमा परिणाम ल्याउन केन्द्रित हुन भनेका हुन्।

कांग्रेस पार्टी कार्यालयका निवर्तमान मुख्यसचिव तथा राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलका अनुसार देउवा पार्टीभित्र फैलाइएका भ्रम, आशंका र टिप्पणीलाई अस्वीकार गर्दै कांग्रेस जिताउने अभियानबाट आफू विचलित नभएको सन्देश दिइरहेका छन्।

पौडेलले भने, “शेरबहादुर दाइकोमा हरेक दिन एक/डेढ सय नेता–कार्यकर्ता आउँछन्। उहाँले सबैलाई गाउँ फर्किएर कांग्रेस जिताउन सक्रिय हुन निर्देशन दिइरहनुभएको छ। प्रत्यक्ष भेटमा दायाँ–बायाँ नलागी कांग्रेसको पक्षमा परिणाम सुनिश्चित गर्न स्पष्ट रूपमा आग्रह गर्नुहुन्छ।”

देउवाले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई समेत आफ्नो प्रदेशसहित देशभर कांग्रेसलाई जिताउन विशेष सक्रियता देखाउन निर्देशन दिएको जानकारी पौडेलले दिए।

दुई कार्यकालसम्म कांग्रेसको सभापति रहिसकेका देउवाले औपचारिक रूपमा लिखित वा मौखिक अपिल जारी गर्ने विषयमा निर्णय नगरे पनि आन्तरिक रूपमा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा लाग्न आह्वान गरिसकेको बताइएको छ।

उपचारका लागि सिंगापुर जानुअघि देउवाले हजारौँ नेता–कार्यकर्तासँग भेटघाट गर्दै चुनावी अभियानलाई केन्द्रित बनाउन निर्देशन दिएको दाबी गरिएको छ।

‘जेन–जी आन्दोलन’पछि सार्वजनिक राजनीतिक कार्यक्रममा सक्रियता कम देखिए पनि देउवा निवासमा दैनिक सयभन्दा बढी कार्यकर्ता भेटघाटका लागि पुग्ने गरेको निकटस्थहरूको भनाइ छ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमण भएपछि देउवा नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर जाने–आउने गरिरहेका छन्। पछिल्लो पटक चिकित्सकको सल्लाहअनुसार पत्नी आरजू राणासँगै उनी सिंगापुर प्रस्थान गरेका छन्।

देउवाको रक्तचाप बढेकाले नियमित स्वास्थ्य परीक्षण र उपचार आवश्यक बनेको नेता पौडेलले बताए। यद्यपि, उपचारकै बीच पनि पार्टीको चुनावी अभियानलाई तीव्र बनाउन देउवाले निरन्तर जोड दिइरहेको दाबी गरिएको छ।

फागुन २१ नजिकिँदै गर्दा देउवा सिंगापुर गएको सन्दर्भलाई लिएर विशेष महाधिवेशनको तुष बाँकी राखिएको हो कि भन्ने अनुमानसमेत भइरहेका बेला उनको पछिल्लो सन्देशले कांग्रेसभित्रको चुनावी रणनीति स्पष्ट पार्ने संकेत दिएको विश्लेषण गरिएको छ। निकट नेताहरूका अनुसार देउवा केही दिनमै उपचार सकेर स्वदेश फर्कने तालिका बनाएर गएका हुन्।

यसरी, स्वास्थ्य उपचारका कारण बाहिर रहे पनि देउवाले आन्तरिक रूपमा संगठन सुदृढ गर्दै निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न दृढ अडान लिएको सन्देश दिन खोजेको बुझिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected