पोखरा। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी माहोल दिनदिनै तातेको छ। घरदैलो अभियानले तीव्रता पाउँदै गर्दा उम्मेदवारसँगै मत माग्न हिँड्ने नेता–कार्यकर्ताको भीड बढ्दो छ। यसपटक भने अभियानमा ७८ वर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी ‘प्यासी’को निरन्तर सक्रियताले विशेष ध्यान खिचेको छ।
नेकपा एमालेका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसँगै सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। उमेर ढल्किँदै गए पनि उनको ऊर्जा र प्रतिबद्धतामा कमी देखिँदैन। उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाइ दिएको कार्यकर्ताहरू बताउँछन्।

२०४३ सालमा जनपक्षीय उम्मेदवारका रूपमा ‘बाल्टी’ चिन्ह लिएर चुनाव जितेका प्यासीलाई मतदाताले अहिले पनि त्यो ऐतिहासिक क्षण सम्झाइदिने गर्छन्। पञ्चायती व्यवस्थाको कठोर समयमा जनमतबाट विजयी बनेका उनी प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत निर्वाचित भएका थिए।
कोशी प्रदेशका प्रदेश प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्छन्, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ।” उनको सक्रियता युवा कार्यकर्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

रश्मी आचार्यको अभियानमा प्यासीको सहभागिता केवल समर्थन मात्र नभई एक पुस्ताबाट अर्को पुस्तामा राजनीतिक निरन्तरता हस्तान्तरण भएको संकेतका रूपमा हेरिएको छ। पाँच–छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदाताबीच विश्वासको प्रतीक बनाएको छ।
घरघरमा पुग्दा मतदाताले उनलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रूपमा सम्मान व्यक्त गर्ने गरेका छन्। कतिपय मतदाता तथा कार्यकर्ताले उनीसँग फोटो तथा भिडियो खिच्न मोबाइल निकाल्ने दृश्य पनि देखिन्छ।
यसपटकको निर्वाचनमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिँडिरहेका प्यासीको सन्देश स्पष्ट छ—राजनीति केवल पदका लागि होइन, निरन्तर प्रतिबद्धताका लागि हो। कास्की–२ को चुनावी माहोलमा उनको उपस्थिति उमेरभन्दा उत्साह र आस्थाले अभियानलाई चलायमान बनाउने सन्देशका रूपमा स्थापित भइरहेको छ।





















