इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ। आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई “आफ्नो सरकार लिन” सार्वजनिक अपिल गरेका छन्।
राजधानी तेहरानस्थित सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ। त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन।

ट्रम्पको दाबी : ‘प्रमुख लडाइँ अपरेसन सुरु’
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले “इरानमा प्रमुख लडाइँ अपरेसनहरू” सुरु गरेको बताएका छन्। उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे।
यही क्रममा ट्रम्पले फेसबुकमार्फत तेहरानमा भएको आक्रमणमा खामेनी मारिएको दाबी गर्दै “यसले इरानी जनता, अमेरिकीहरू र विश्वका धेरै देशका मानिसहरूका लागि न्याय भएको” टिप्पणी गरेका छन्।

तर, खामेनी आक्रमणका बेला कार्यालयमा थिए कि थिएनन् भन्ने स्पष्ट भएको छैन। ८६ वर्षीय खामेनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन्। इरानले भने उनको मृत्युबारे आएको खबर अस्वीकार गरेको छ।
नेतन्याहुको संकेत, तर स्वतन्त्र पुष्टि छैन
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले पनि आक्रमणपछि खामेनी “अब छैनन् भन्ने संकेतहरू बढ्दै गइरहेको” बताएका छन्।
रोयटर्स, Fox News लगायत केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘वरिष्ठ’ इजरायली अधिकारीलाई उद्धृत गर्दै खामेनी मारिएको रिपोर्ट सार्वजनिक गरेका छन्। यद्यपि स्वतन्त्र पुष्टि भने भएको छैन।
विद्यालयमा भीषण आक्रमण, दर्जनौँ बालबालिकाको मृत्यु
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलले दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको प्राथमिक विद्यालयमा आक्रमण गरेको छ।
शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै प्रारम्भिक रिपोर्टमा ५३ जनाको मृत्यु र ६३ जना घाइते भएको जनाइएको थियो। पछिल्लो विवरणअनुसार मृतकको संख्या ४० देखि ८५ सम्म पुगेको विभिन्न स्रोतहरूले जनाएका छन्। भग्नावशेष हटाउने कार्य जारी छ।
इरानी विदेशमन्त्रीले विद्यालय भवनबाट धुवाँ निस्किएको तस्बिर सार्वजनिक गर्दै “निर्दोष बालबालिकाको हत्या भएको” आरोप लगाएका छन् र यसको “जवाफ दिइने” चेतावनी दिएका छन्।
प्रतिआक्रमणको चेतावनी, हवाई क्षेत्र बन्द
तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन्। इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने मोबाइल सेवा अवरुद्ध गरिएको छ। छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको जनाएको छ।
इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारको चेतावनी दिइएको छ। अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गरेका छन्।
इरानले तत्काल प्रतिआक्रमणबारे स्पष्ट नपारे पनि क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ।
रुसको तीव्र प्रतिक्रिया : ‘खतरनाक र विनासकारी कदम’
रुस ले अमेरिका र इजरायलको कदमलाई “खतरनाक” र “विनासकारी” भन्दै कडा शब्दमा निन्दा गरेको छ।
क्रेमलिनद्वारा जारी विज्ञप्तिमा यस कदमले क्षेत्रलाई मानवीय, आर्थिक तथा सम्भावित विकिरणजन्य संकटतर्फ धकेल्ने चेतावनी दिइएको छ।
मस्कोले अन्तर्राष्ट्रिय कानुन र सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको खोजीमा योगदान दिन तयार रहेको जनाएको छ। साथै, इरान र इजरायलमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा आवश्यक परे देश छोड्न आग्रह गरेको छ।
युद्धविरामको सम्भावना क्षीण
दुवै पक्ष वार्तातर्फ भन्दा प्रतिआक्रमणको भाषामा उत्रिएकाले तत्काल युद्धविरामको सम्भावना क्षीण देखिएको विश्लेषण गरिएको छ।
खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी, विद्यालयमा भएको भीषण क्षति, र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक सैन्य टकरावको जोखिम बढाएको छ।
अहिलेसम्म हताहत र क्षतिको स्वतन्त्र तथा आधिकारिक पुष्टि पूर्ण रूपमा हुन बाँकी छ। घटनाक्रम तीव्र गतिमा विकसित भइरहेकाले आगामी केही घण्टा र दिन निर्णायक हुने अनुमान गरिएको छ।




















