
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा सहभागी भई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको छ।
खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै निर्वाचनमा सहभागी भई प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा ‘रुख’ चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभएको हो।

उहाँले यसपटक आफू उम्मेदवार नउठेको स्पष्ट पार्दै उक्त विषय माघ ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको उल्लेख गर्नुभयो। “यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन भन्ने विषयमा माघ ६ गते नै स्पष्ट पारिसकेको छु,” उहाँले लेख्नुभएको छ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै उहाँले सबै मतदातालाई लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आग्रह गर्नुभएको छ।

आगामी बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानमा सहभागी भई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फका मतपत्रमा नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’ मा स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजय गराउन उहाँले आह्वान गर्नुभएको छ।
यसअघि नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई नेपाली कांग्रेसको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको सार्वजनिक भइसकेको छ।
प्रतिनिधि सभाका २७५ सिटका लागि फागुन २१ गते देशभर निर्वाचन हुँदैछ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै मतदातालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।





सम्बन्धित खवर















