
पोखरा। गाउँमै स्वास्थ्य चौकी भए पनि भवन मात्रै छन् । औषधि र डाक्टर अभावका कारण सामान्य उपचारका लागि पनि बिरामीलाई पोखरा र काठमाडौं धाउनुपर्छ । देशका अधिकांश ग्रामीण क्षेत्रमा देखिएको यही समस्या समाधानका लागि कास्की–३ का उम्मेद्वार मनोज गुरुङले ‘हब हस्पिटल’ अवधारणा अघि सारेका छन् ।
घरदैलो अभियानका क्रममा मतदातासँग भेट्दै उनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । “अस्पताल भएर पनि उपचार नपाउनु नागरिकको नैसर्गिक अधिकारमाथिको अन्याय हो,” उनले भने, “धेरै स्वास्थ्यचौकी सिटामोल बाँड्ने केन्द्रजस्तै भएका छन् । सर्पले टोक्दा समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । हाम्रो भूगोल जटिल छ, छिटो अस्पताल पुर्याउन सकिँदैन । त्यसैले अब विकल्प खोज्नुपर्छ ।”

गुरुङका अनुसार निर्वाचन क्षेत्रलाई केन्द्रित गरी पायक पर्ने स्थानमा सुविधा सम्पन्न ‘हब हस्पिटल’ स्थापना गर्नुपर्छ । “जटिल बाहेकका अधिकांश उपचार त्यहीँबाट हुन सकून्,” उनले भने, “अस्पताल भनेको भवन मात्रै होइन । दक्ष डाक्टर, आवश्यक उपकरण र औषधि सुनिश्चित गर्नुपर्छ । संसदमा पुगेपछि यही नीतिका लागि पैरवी गर्छु ।”
स्वास्थ्यसँगै शिक्षामा पनि उनले संरचनागत सुधारको प्रस्ताव राखेका छन् । गाउँगाउँका साना विद्यालयलाई प्रारम्भिक शिक्षामा सीमित गर्दै केही पालिकालाई समेट्ने गरी गुणस्तरीय ‘बिग स्कूल’ स्थापना गर्नुपर्ने उनको तर्क छ ।

“कतिपय विद्यालयमा विद्यार्थी नै छैनन् । शिक्षक विद्यालय कुरेर बस्नुपर्ने अवस्था छ,” उनले भने, “स्कूल बन्द भयो भनेर चिन्ता गर्नेभन्दा समयअनुसार एडप्ट हुनुपर्छ । ‘बिग स्कूल’ अवधारणाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न मद्दत गर्छ ।”
उनले एकै क्षेत्रमा प्राविधिक तथा अन्य विषय पढाइ हुने प्रतिनिधिमूलक आवासीय विद्यालय सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।
घरदैलोका क्रममा धेरै मतदाताले बन्द हुँदै गरेका विद्यालय र स्वास्थ्य संस्थामा उपचार नपाएको गुनासो सुनाएको उनले बताए । “मैले मेरो भूगोलको समस्या बुझेको छु । नागरिकले सुनाएको पीडा मैले पनि भोगेको हुँ,” उनले भने, “भोट माग्न फुरुक्क पार्नुपर्ने छैन । यी विषयमा म यसअघि नै समन्वय र पैरवी गर्दै आएको छु ।”
गुरुङले कास्की जिल्लाको विकासका लागि संघ र प्रदेश सरकारका मन्त्रालय तथा निकाय धाइसकेको बताउँदै सबै वडामा कालोपत्रे सडक र एम्बुलेन्स चल्न सक्ने ‘अल वेदर रोड’ निर्माण गर्ने प्रतिबद्धता जनाए । संरक्षण क्षेत्रभित्रका व्यवसायीलाई त्रसित नबनाई वैधानिकता दिलाउन पहल गर्ने उनको भनाइ छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संसदबाट विश्व समुदायको ध्यानाकर्षण गराउने उद्घोष पनि उनले गरेका छन् ।
नेपाली कांग्रेसबाट कास्की–३ मा उम्मेद्वार बनेका गुरुङले मतदाताको साथ र समर्थनले आफू उत्साहित भएको बताएका छन् । “सांसद बन्ने आकांक्षाले होइन, नागरिकको सुखदुःखमा साथ दिँदै आएको हुँ,” उनले भने, “परिस्थितिले थप जिम्मेवारी दिएको छ । त्यसका लागि तयार छु ।”





सम्बन्धित खवर















