नाम्चेदेखि संसारसम्म : मिङ्मा दोर्जीको ‘शेर्पा’ कथा अब अंग्रेजीमा

‘सगरमाथाको शेर्पा म’ को अंग्रेजी संस्करण सार्वजनिक, पुस्तक बिक्रीको सम्पूर्ण रकम सामाजिक कार्यमा
काठमाडौं — सगरमाथाको काखमा जन्मिएको एउटा शेर्पा जीवनको कथा अब नेपाली सीमाबाट बाहिर निस्किएको छ। सोलुखुम्बुको नाम्चेमा जन्मिएका पर्यटन व्यवसायी तथा समाजसेवी मिङ्मा दोर्जी शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ को अंग्रेजी संस्करण ‘I am a Sherpa of Mt. Everest’ सार्वजनिक गरिएको छ।
सन् १९५७ मा नाम्चेमा जन्मिएका शेर्पाले बाल्यकालदेखि भोगेको हिमाली जीवन, संघर्ष, पर्यटन व्यवसाय, सामाजिक सेवा र शेर्पा समुदायको संस्कृति तथा पहिचानलाई समेटिएको पुस्तक अब अन्तर्राष्ट्रिय पाठकसम्म पुगेको हो।
लैनचौरस्थित द मल्ल होटलमा शनिबार आयोजित समारोहमा पुस्तकको अंग्रेजी संस्करण सार्वजनिक गरिएको हो। पेम्बा याङ्जी शेर्पा स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्य, पर्यटन, समाजसेवा, राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो।
पुस्तकको अंग्रेजी संस्करण सार्वजनिक हुनु केवल एउटा आत्मकथाको भाषान्तरण मात्र नभएको वक्ताहरूले बताए। उनीहरूका अनुसार यसले सगरमाथाको उचाइसँगै त्यसको काखमा हुर्किएको शेर्पा समुदायको जीवन, संघर्ष, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्याउने काम गर्नेछ।
सगरमाथा र शेर्पा भन्नेबित्तिकै विश्वले पर्वतारोहण सम्झन्छ। तर शेर्पा समुदायको जीवन हिमाल आरोहणमा मात्र सीमित छैन। पुस्तकले साहस, इमानदारी, श्रम, त्याग र हिमालसँगको आत्मीय सम्बन्धसँगै शेर्पा समाजको सामाजिक तथा सांस्कृतिक जीवनलाई समेत प्रस्तुत गरेको छ।
समारोहमा वक्ताहरूले ‘I am a Sherpa of Mt. Everest’ ले विदेशी पाठकलाई सगरमाथाको उचाइभन्दा पर पुगेर त्यसको काखमा बाँचिरहेका मानिसको जीवन बुझ्ने अवसर दिने विश्वास व्यक्त गरे।

पुस्तकका अनुवादक तथा सिक्किमका वरिष्ठ साहित्यकार डा. मनोरथ दाहाललाई समारोहमा विशेष सम्मान गरिएको थियो। दाहालले शेर्पा समुदायको समृद्ध संस्कृति र जीवनशैलीलाई अर्को भाषामा उतार्नु चुनौतीपूर्ण भए पनि गर्वको विषय भएको बताए।
अंग्रेजी संस्करणले पुस्तकलाई नेपाल र नेपाली भाषी पाठकको सीमाभन्दा बाहिर पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी सगरमाथा, नेपाल र शेर्पा संस्कृतिप्रति रुचि राख्ने अन्तर्राष्ट्रिय पाठकका लागि पुस्तकले नयाँ प्रवेशद्वार खोल्ने आयोजकको विश्वास छ।
दृष्टिविहीन तथा पुस्तक पढ्न समय नपाउने पाठकलाई लक्षित गर्दै अडियोबुक संस्करणको अंशसमेत समारोहमा सार्वजनिक गरिएको थियो।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य पनि हो। प्रतिष्ठानले पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम सामाजिक कार्यका लागि लायन्स क्लब अफ फिनिक्स काठमाडौंलाई हस्तान्तरण गर्ने जनाएको छ।
पुस्तक सार्वजनिक गर्ने क्रममा लेखक मिङ्मा दोर्जी शेर्पाले नाम्चेमा बिताएको बाल्यकालदेखि अहिलेसम्मको जीवनयात्रा सम्झिए। हिमाली भूगोल, संघर्ष, पर्यटन व्यवसाय र समाजसेवासँग जोडिएको आफ्नो यात्रालाई पुस्तकमार्फत दस्तावेज गर्ने प्रयास गरेको उनले बताए।
उनका लागि यो पुस्तक व्यक्तिगत जीवनको विवरण मात्र होइन, आफूले देखेको र भोगेको शेर्पा समाजको एउटा कालखण्डको अभिलेखसमेत हो। आत्मकथाले शेर्पा समुदायको संस्कृति, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
लेखक शेर्पाका नौ वर्षीय नाति नोर्वु छिरिङ शेर्पाको स्वागत मन्तव्यपछि प्रमुख अतिथि प्राध्यापक डा. सुरेन्द्र केसीसहित विशिष्ट अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

समारोहमा जरा फाउन्डेसन नेपालका अध्यक्ष तथा जेन कवि कृष्ण प्रसाईँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक एवं गीतकार देवेन्द्र केसी, परराष्ट्रविद् नारायण मैनाली, प्रतिनिधिसभा सदस्य गंगा सन्त्याल, लायन्स क्लब अफ फिनिक्स काठमाडौंका पूर्व अध्यक्ष लायन दीपशिखा शर्मा, वर्तमान अध्यक्ष लायन यशोदा गुरुङ तथा प्रथम उपाध्यक्ष लायन धनु थापालगायतको उपस्थिति थियो।
सिर्जना शर्माले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, पर्यटन व्यवसायी, समाजसेवी, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्व, स्वदेशी–विदेशी पाहुना र सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो।
नाम्चेमा सुरु भएको मिङ्मा दोर्जी शेर्पाको जीवनकथा अब अंग्रेजी भाषामार्फत संसारका पाठकसम्म पुगेको छ। सगरमाथाको उचाइसँगै त्यसको काखमा बाँच्ने मानिसको कथा पनि विश्वले पढ्ने बाटो खुलेको छ।











