0Shares

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा युवा उद्यमी किरण केसीले उम्मेदवारी दिएका छन्। व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय केसीको उम्मेदवारीसँगै उनको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढेको हो।

उद्योगपति तथा समाजसेवी स्वर्गीय सूर्यबहादुर केसीका छोरा किरण व्यवसाय र सामाजिक क्षेत्रमा पारिवारिक पृष्ठभूमि बोके पनि पछिल्लो समय आफ्नै भूमिकामार्फत सार्वजनिक क्षेत्रमा सक्रिय छन्। अब उनले व्यवसाय र शिक्षाबाट हासिल गरेको अनुभवलाई पार्टी राजनीति र सार्वजनिक भूमिकासँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा आफूलाई प्रस्तुत गरेका छन्।

किरण हाल कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन्। शिक्षा क्षेत्रमा संस्थागत विकाससँगै उनी जलविद्युत्, अपार्टमेन्टलगायतका व्यवसायमा समेत संलग्न छन्।

उनको नेतृत्वमा क्याम्पसको शैक्षिक तथा भौतिक विकासका काम अघि बढिरहेका छन्। केसी परिवारको सहयोगमा करिब ३ करोड २६ लाख रुपैयाँ लागतमा निर्माण भएको पुस्तकालय भवनसमेत क्याम्पसलाई हस्तान्तरण गरिएको छ।

व्यवसायलाई आर्थिक गतिविधि र रोजगारी सिर्जनासँग जोडेर हेर्ने केसीले युवाको राजनीतिक सहभागिता, उद्यमशीलता प्रवर्द्धन, गुणस्तरीय शिक्षा, संगठनात्मक एकता तथा पुस्ताबीचको सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।

स्वर्गीय सूर्यबहादुर केसी पोखराको उद्योग–व्यवसाय, शिक्षा तथा सामाजिक क्षेत्रमा स्थापित नाम थिए। कालिका बहुमुखी क्याम्पसका संस्थापक अध्यक्षसमेत रहेका उनले संस्थाको विकासमा योगदान गरेका थिए।

बाबुको सार्वजनिक जीवनलाई नजिकबाट नियालेका किरणले अहिले त्यही अनुभवलाई आफ्नै राजनीतिक यात्रासँग जोड्न खोजेका छन्। उनको उम्मेदवारी पारिवारिक विरासतसँग जोडिए पनि अबको राजनीतिक पहिचान भने संगठनभित्रको सक्रियता, विचार र सार्वजनिक भूमिकामार्फत निर्माण हुने विषय बनेको छ।

कास्की–२ बाट महाधिवेशन प्रतिनिधि (खुला) पदको उम्मेदवारीसँगै किरणका लागि व्यवसाय र शिक्षाबाट सार्वजनिक जीवनतर्फको यात्राले नयाँ मोड लिएको छ। अब उनको राजनीतिक सक्रियता कति फराकिलो हुन्छ भन्ने चासो कांग्रेसको क्षेत्रीय राजनीतिमा जोडिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected