0Shares

पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको लेकसाइडमा मिनी सडक महोत्सव आयोजना हुने भएको छ। पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा पोखरा पर्यटक स्वागतका लागि तयार रहेको सन्देश देश–विदेशमा प्रवाह गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले असोज ११ गते अर्थात् २७ सेप्टेम्बर २०२६ मा महोत्सव गर्न लागेको हो।

पर्यटन क्षेत्रले विभिन्न चुनौती र विषम परिस्थितिको सामना गरिरहेको अवस्थामा पोखराको पर्यटनलाई चलायमान बनाउन तथा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष बसन्त गौतमले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

यस वर्षको विश्व पर्यटन दिवसको सन्देश ‘डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्तामार्फत पर्यटनको पुनःपरिकल्पना’ लाई आत्मसात् गर्दै महोत्सव आयोजना गर्न लागिएको हो।

अध्यक्ष गौतमका अनुसार महोत्सवमार्फत ‘पोखरा खुला छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै पर्यटकलाई पोखरामा स्वागत गर्न पर्यटन व्यवसायी तयार र उत्साहित रहेको जानकारी गराइनेछ।

महोत्सवको मुख्य उद्घाटन कार्यक्रम लेकसाइडस्थित अम्मट क्षेत्रमा हुनेछ। उद्घाटनपछि मुख्य स्टेजमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने रेवान पोखराले जनाएको छ।

त्यस्तै, सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा गन्धर्व गायन प्रस्तुत गरिनेछ। लेकसाइड स्ट्रीट नं. ४ र ५ बीचको क्षेत्रमा सांस्कृतिक नृत्य तथा लाइभ ब्यान्डको प्रस्तुति रहनेछ।

महोत्सवका क्रममा सडक क्षेत्रमा स्वदेशी तथा विदेशी खानाका विभिन्न परिकारको प्रदर्शन तथा प्रवद्र्धनसमेत गरिनेछ। स्थानीय कला, संस्कृति र मौलिक खानाका परिकारलाई पर्यटकसमक्ष प्रस्तुत गर्दै पोखराको आतिथ्य संस्कृतिलाई थप प्रवद्र्धन गर्ने आयोजकको लक्ष्य छ।

महोत्सवअन्तर्गत बिहान लेकसाइडको खहरेचोकदेखि अम्मटसम्म पर्यटक दौड प्रतियोगिता आयोजना गरिनेछ। त्यस्तै, साँझ सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा गन्धर्व गायन तथा लेकसाइडको स्ट्रीट नं. ४ र ५ बीचको क्षेत्रमा सांस्कृतिक नृत्य र लाइभ ब्यान्ड प्रस्तुत गरिनेछ।

रेवान पोखराका अनुसार महोत्सव क्षेत्रभर स्वदेशी तथा विदेशी खानाका परिकारको प्रदर्शन र प्रवद्र्धन गरिनेछ। यसले पोखराको पर्यटन व्यवसाय, स्थानीय कला–संस्कृति, खानाका परिकार र मनोरञ्जनलाई एउटै थलोबाट पर्यटकसमक्ष पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्यटनको मुख्य सिजन सुरु हुने समयसँगै आयोजना हुन लागेको महोत्सवले पोखरा पर्यटक स्वागतका लागि पूर्णरूपमा तयार रहेको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ। महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ ऊर्जा थपिने र पर्यटकको आगमन तथा बसाइलाई थप आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले पर्यटन विकास र प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई प्रभावकारी बनाउन सञ्चारकर्मीको साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक रहेको बताए।

उनले विश्व पर्यटन दिवस मिनी सडक महोत्सवलाई भव्य, सभ्य, व्यवस्थित र पर्यटकमैत्री बनाउन सञ्चारमाध्यम तथा सञ्चारकर्मीबाट प्रचार–प्रसार र सहकार्यको अपेक्षा गरिएको बताए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected