
नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते

पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन। पाँच दशकअघि पोखरामा रोपिएको सेवाको एउटा बीउ आज विशाल सामाजिक अभियानका रूपमा फैलिएको छ। यही गौरवशाली इतिहास, समर्पण र निरन्तरताको उत्सव मनाउन लायन्स क्लब अफ पोखरा स्वर्ण महोत्सवको तयारीमा जुटेको छ।
नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबका रूपमा स्थापित यस संस्थाले आगामी मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा भव्य स्वर्ण महोत्सव समारोह आयोजना गर्दैछ। पाँच दशकको सामाजिक यात्रालाई स्मरण गर्दै संस्थापक तथा अग्रजहरूको योगदानको सम्मान, संस्थागत उपलब्धिको समीक्षा र भावी पुस्ताका लागि सेवाको नयाँ प्रतिबद्धता व्यक्त गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ।
वि.सं. २०३३ साल कार्तिक २५ गते अर्थात् १० नोभेम्बर १९७६ मा पोखराका अग्रज समाजसेवी, व्यवसायी तथा बुद्धिजीवीहरूको सक्रियतामा स्थापना भएको क्लबको इतिहास एउटा सामाजिक संस्थाको जन्मकथा मात्र होइन, पोखरामा संगठित र संस्थागत सामाजिक सेवाको विकासक्रमसँग जोडिएको महत्त्वपूर्ण अध्याय पनि हो।
क्लबको स्थापनासम्बन्धी ऐतिहासिक विवरणअनुसार सन् १९७६ मा लायन नवराज पटेल र उहाँको टोलीको पहलमा तत्कालीन पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो। तर प्रशासनिक तथा शैक्षिक जिम्मेवारीका कारण उहाँले नेतृत्व लिन नसकेपछि पोखराका प्रतिष्ठित व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबले औपचारिक स्वरूप प्राप्त गरेको थियो।
२७ जना सदस्यबाट सुरु भएको संस्थाको यात्रा आज पाँच दशक पार गर्दै नयाँ पुस्तासम्म आइपुगेको छ। यस अवधिमा अनेकौँ नेतृत्वले संस्थालाई अघि बढाए, सदस्यता विस्तार भयो र सेवाका क्षेत्रहरू फराकिला बने। संस्थापक सदस्य मेहरमान श्रेष्ठका अनुसार स्थापनाकालीन यात्राका साक्षीका रूपमा अहिले क्लबमा संस्थापक सदस्यमध्ये तीन जना मात्र सक्रिय छन्। तीमध्ये मेहरमान श्रेष्ठ, संस्थापक कोषाध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सुशील कुमार गोशाली र पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ रहेका छन्। हाल क्लबमा ४२ जना सदस्य आबद्ध छन्।

‘हामी सेवा गर्छौँ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानवीय सहायता तथा नेतृत्व विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति वितरण, वातावरण संरक्षण अभियानदेखि प्राकृतिक विपद्का समयमा राहत तथा सहयोगसम्मका गतिविधिमार्फत क्लबले समुदायसँग आफ्नो सम्बन्धलाई जीवन्त बनाएको छ।
पाँच दशकको यो यात्रामा क्लबले सेवा कार्यक्रम सञ्चालन गर्ने संस्थाको परिचयमा मात्र आफूलाई सीमित राखेन; सामाजिक उत्तरदायित्व, स्वयंसेवी भावना, मानवीय संवेदना र नेतृत्व विकासको संस्कारसमेत स्थापित गर्ने प्रयास गर्यो। त्यसैले स्वर्ण महोत्सव संस्थाको उमेरगणना मात्र नभई पुस्तौँको समर्पण र सेवाभावको सार्वजनिक अभिलेखका रूपमा हेरिएको छ।
स्वर्ण महोत्सवलाई ऐतिहासिक, व्यवस्थित र स्मरणीय बनाउन क्लबले पूर्वअध्यक्ष सुशील कुमार गोशालीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ। समारोहलाई सफल बनाउन वित्त, स्मारिका प्रकाशन, कार्यक्रम व्यवस्थापन, सम्मान, आवास तथा यातायात, खानपान, स्वास्थ्य सेवा, हेल्प डेस्क, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कारलगायतका विभिन्न समिति तथा उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ।
महोत्सवका अवसरमा संस्थापक सदस्य तथा अग्रज लायन्सहरूको सम्मान, सामाजिक सेवासम्बन्धी विशेष कार्यक्रम, सांस्कृतिक प्रस्तुति र क्लबका पाँच दशकका गतिविधि, उपलब्धि तथा विशिष्ट योगदान समेटिएको स्मारिका विमोचन गरिनेछ।
क्लबका पूर्वअध्यक्ष, स्मारिका प्रकाशन समितिका संयोजक तथा डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानका अनुसार स्मारिकाले क्लबको ऐतिहासिक यात्रा, सामाजिक अभियान र विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरूको योगदानलाई दस्तावेजका रूपमा सुरक्षित गर्नेछ। उनका अनुसार संस्थाको इतिहासलाई भावी पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण माध्यमका रूपमा स्मारिका तयार पारिएको हो।

स्वर्ण महोत्सव समारोहमा नेपालका व्यवस्थापकीय तथा सार्वजनिक क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, वरिष्ठ लायन्स सदस्य, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध अगुवा र समाजसेवीहरूलाई आमन्त्रण गरिएको छ।
पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापक सदस्य, पूर्वअध्यक्ष, लायन्स नेतृत्व, शुभेच्छुक तथा समाजसेवीसहित करिब १ हजार २०० जनाको सहभागिता रहने लक्ष्य राखिएको मूल समारोह संयोजक सुशील कुमार गोशालीले जानकारी दिए।
क्लबका अध्यक्ष डा. माधव तिवारीले स्वर्ण महोत्सवलाई संस्थाको गौरवशाली इतिहास स्मरण गर्ने अवसरमा मात्र सीमित नराखी वर्तमान उपलब्धिको समीक्षा र आगामी पुस्ताका लागि सेवाको नयाँ संकल्प गर्ने ऐतिहासिक क्षणका रूपमा लिएको बताए। उनले सम्पूर्ण लायन्स सदस्य, पूर्वअध्यक्ष, शुभेच्छुक तथा आम नागरिकलाई समारोहमा सहभागी भई स्वर्ण महोत्सवलाई सफल बनाउन आग्रह गरे।
पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला तथा मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले एउटा सामाजिक संस्थालाई पाँच दशकसम्म जीवन्त राख्दै स्वर्ण महोत्सवसम्म पुर्याउनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनीहरूले क्लबको ऐतिहासिक योगदान र वर्तमान सामाजिक गतिविधिको चर्चा गर्दै संस्थाको निरन्तरताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा राखे।
संस्थापक सदस्य एवं पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठले स्थापनाकालीन अवस्थाको स्मरण गर्दै क्लबले सुरुवाती दिनमा सामना गरेका चुनौती, संस्थापकहरूको दूरदृष्टि र समर्पणबारे जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक सुशील कुमार गोशालीले स्थापनाकालदेखि हालसम्म क्लबका सामाजिक गतिविधि र योगदानलाई समुदायसम्म पुर्याउन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। उनले मंसिर ५ गते आयोजना हुने स्वर्ण महोत्सवको व्यापक प्रचारप्रसार गरी आम नागरिकसम्म यसको सन्देश पुर्याउन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरे।
क्लबका अध्यक्ष डा. माधव तिवारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन पूर्वअध्यक्ष दीपेन्द्र कोइरालाले गरेका थिए।











