
पोखरा । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गामा वडा कार्यालयको नवनिर्मित भवन र हिले स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । दुवै भवनको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरेका हुन् ।
वडा कार्यालय भवन जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा करिब ८५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । त्यसैगरी, हिले स्वास्थ्य चौकी भवन निर्माणमा करिब ३५ लाख रुपैयाँ खर्च भएको छ । दुवै भवन निर्माणमा कुल करिब एक करोड २० लाख रुपैयाँ लगानी भएको छ ।
भवन निर्माणका लागि स्थानीयवासीले आठ–आठ आना जग्गा उपलब्ध गराएका थिए । वडा कार्यालय भवनका लागि मेजर हितमान गुरुङको परिवार, मुक्तबहादुर गुरुङ, ललितमान गुरुङ र लक्षीन सुवा गुरुङलगायतले जग्गादान गरेका हुन् । स्थानीयको जग्गादान र सहयोगले सार्वजनिक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुगेको छ ।
अघिल्लो कार्यकालमा योजना निर्माण गरी निर्माण प्रक्रिया सुरु गरिएका यी भवन चालु आर्थिक वर्षमा सम्पन्न भएका हुन् । वडा कार्यालय भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने र हिले स्वास्थ्य चौकीबाट आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँमा प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाताहरूप्रति आभार व्यक्त गरे । उनले विकास निर्माणका कामलाई सफल बनाउन सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै आपसी हातेमालोबाट गाउँपालिकाको समग्र विकासमा अघि बढ्न आग्रह गरे ।
वडा अध्यक्ष गुरुङले समृद्ध वडा, स्वस्थ नागरिक र सुशासनयुक्त अन्नपूर्ण निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले स्थानीय आवश्यकता र जनताको चाहनाअनुसार विकास निर्माण तथा सेवा प्रवाहका कामलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरे ।
निवर्तमान गाउँपालिका अध्यक्ष युवराज कुँवरले स्थानीय सरकार जनताको सरकार भएको उल्लेख गर्दै जनताको आवश्यकता र चाहनाअनुसार विकासका योजना अघि बढाउनुपर्ने बताए । आफ्नो कार्यकालमा योजना निर्माण गरी निर्माण प्रक्रिया सुरु गरिएका भवन यस कार्यकालमा सम्पन्न भई उद्घाटन भएको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए । विकास निर्माणका काम कुनै एक कार्यकालमा सीमित नहुने भन्दै योजनालाई निरन्तरता दिई सम्पन्न गराउन भूमिका खेल्ने गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि तथा पालिका परिवारप्रति उनले आभार व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, कार्यपालिका सदस्य, वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, कर्मचारी, जग्गादाता, आमा समूह, युवा क्लब, टोल सुधार समितिका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
स्थानीयस्तरमा प्रशासनिक सेवा र आधारभूत स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएका यी संरचनालाई अन्नपूर्ण गाउँपालिकाको पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको पालिका प्रमुख प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गाले जनाए ।












