
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा सडक दौड २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर ५ गते शनिबार आयोजित प्रतियोगितामा १ हजार ४ सयभन्दा बढी धावक सहभागी भएका थिए ।
बैंकको १८औँ वार्षिकोत्सवदेखि सुरु गरिएको सडक दौड प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै चारवटा प्रतिस्पर्धा आयोजना गरिएको थियो ।
खुलातर्फ पुरुषको १० किलोमिटर दौड ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन प्रथम भए । त्यस्तै, महिलातर्फ १० किलोमिटर दूरी ३९ मिनेट ५४ सेकेन्डमा पार गर्दै राज्य रावलले पहिलो स्थान हासिल गरिन् ।
यसैगरी, कर्पोरेटतर्फ पुरुषको पाँच किलोमिटर दौड १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी प्रथम भए भने महिलातर्फ पाँच किलोमिटर दूरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै दिव्या विष्ट पहिलो भइन् ।
प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेटतर्फ क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । विजेता तथा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद पुरस्कारसँगै पदक र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा आएर सम्पन्न भएको थियो ।
त्यस्तै, कर्पोरेटतर्फको पाँच किलोमिटर दौड बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै आएर टुंगिएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक, सेयरधनी, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तित्व, स्थानीय तहका प्रतिनिधि, पत्रकार र बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । साथै, वार्षिकोत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमसमेत सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यले जानकारी दिए ।












