
पोखरा । नेपाल प्रेस युनियन कास्कीका सदस्य तथा पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा बिहीबार असामयिक निधन भएको हो ।
विगत पाँच वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहेकी मीराको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ । उनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत पटक–पटक उपचार गरिएको थियो ।
मीराका दुई छोरा निरज र निशान छन् । जेठा छोरा निरज तीन महिनाअघि मात्रै वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरिया गएका थिए । कान्छो छोरा निशान १२ कक्षामा अध्ययनरत छन् । आमाको निधनले परिवार शोकमा डुबेको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोक, गोल्याङ स्थायी घर भएका पन्त परिवार हाल पोखराको मालेपाटनमा बसोबास गर्दै आएका छन् ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय हरि पन्त विभिन्न सञ्चारमाध्यममा आबद्ध छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वकार्यसमिति सदस्यसमेत हुन् ।
यसैगरी, उनी नेपाली कांग्रेस पोखरा महानगरपालिका–५ का कार्यसमिति सचिव तथा धादिङ–पोखरा सम्पर्क समाजका पूर्वमहासचिव हुन् । हाल उनी उक्त समाजको सल्लाहकारका रूपमा रहेका छन् ।
पत्रकार पन्तकी जीवनसंगिनीको असामयिक निधनप्रति पत्रकारिता तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।












