२०८३ मंसिर ७, सोमबार Monday, November 23, 2026
खबर

कांग्रेस कास्की–३ मा प्रकाश बरालले सम्हाले नेतृत्व, कार्यकर्ताको घरदैलोमा पुग्ने घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का नवनिर्वाचित क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिको पदस्थापन एवं शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय सभापति एवं गण्डकी प्रदेश सरकारका मुख्य सचेतक प्रकाश बरालले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउँदै कार्यकर्ता तथा मतदाताको घरदैलोसम्म पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्र नं. ३ का निवर्तमान सभापति मनोज गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति गुरुङले नवनिर्वाचित क्षेत्रीय सभापति बराललाई पदभार हस्तान्तरण गरेका थिए।

पदभार ग्रहणपछि सभापति बरालले महाधिवेशनबाट निर्वाचित भएर आएका प्रतिनिधि तथा पदाधिकारीले आफूलाई मत दिएर निर्वाचित गराउने कार्यकर्ताको घरदैलोसम्म पुग्नुपर्ने बताए। विगतमा महाधिवेशनका बेला मात्रै कार्यकर्तामाझ पुग्ने प्रवृत्तिलाई अन्त्य गर्दै अब नियमित रूपमा कार्यकर्तासँग जोडिएर पार्टीका गतिविधिलाई तीव्रता दिने उनको भनाइ थियो।

‘हामीलाई निर्वाचित गराउने कार्यकर्ताको घरदैलोसम्म पुगेर उनीहरूका भावना, सुझाव र अपेक्षा बुझ्दै संगठन निर्माणमा जुट्नुपर्छ,’ बरालले भने, ‘महाधिवेशनका बेला मात्रै कार्यकर्तामाझ पुग्ने परम्परालाई तोडेर अब निर्वाचित प्रतिनिधि र नेतृत्व निरन्तर कार्यकर्तासँग जोडिनुपर्छ। पार्टीका गतिविधिमा सबैलाई सशक्त रूपमा सहभागी गराउँदै संगठनलाई बलियो बनाउनेछौँ।’

प्रमुख अतिथि केन्द्रीय उपसभापति भुसालले बीपी कोइरालाको मार्गदर्शन र नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताइन्। कांग्रेसभित्र नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनले पार्टीको विधान, संस्कार र संगठनको मर्मअनुसार लोकतान्त्रिक पद्धतिबाट अघि बढ्नुपर्नेमा जोड दिइन्।

‘पार्टीलाई चलायमान र जीवन्त बनाउन विधानको पूर्ण पालना गर्नुपर्छ। नेपाली कांग्रेस नेता र कार्यकर्ताको मात्रै पार्टी हो भन्नु अन्याय हुन्छ,’ भुसालले भनिन्, ‘लोकतन्त्रमा विश्वास गर्ने सबै नागरिकको साझा पार्टी नेपाली कांग्रेस हो।’

उनले कांग्रेसले हिंसालाई स्वीकार नगर्ने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गरेर व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रियतालाई प्राथमिकता दिँदै आएको बताइन्। पार्टीको आदर्श, संस्कार र सिद्धान्तलाई व्यवहारमा उतार्दै संगठनलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय लक्ष्मी पाण्डे र डा. कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल, निवर्तमान केन्द्रीय सदस्य कृष्ण केसी, जिल्ला उपसभापति युवराज कुँवरलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै पार्टी संगठनलाई एकताबद्ध र सशक्त बनाउन आग्रह गरेका थिए।

त्यसैगरी कांग्रेस नेता आईबहादुर गुरुङ, नगर सभापति सुरेन्द्रमान बिजुक्छे, क्षेत्र नं. ३ (क) का सभापति मेख तामाङ, (ख) का सभापति विजय गुरुङ, कांग्रेस नेताहरू खेमलाल बास्तोला, मीनबहादुर गुरुङ, जीवनाथ पौडेल, पुष्पेन्द्र पाण्डे, शिव तिमिल्सिना, विष्णुबहादुर क्षेत्री र मधुसुदन त्रिपाठीलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा १५औँ महाधिवेशनबाट निर्वाचित विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधि, जिल्ला एवं क्षेत्रीय पदाधिकारी र नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्षेत्र नं. ३ का निवर्तमान सचिव लक्ष्मी प्रसाद पौडेलले गरेका थिए ।

Read more

लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकीको महासचिवमा श्रेष्ठ

पोखरा, ७ मंसिर । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको महासचिवमा दिलिपकुमार श्रेष्ठ मनोनित भएका छन्। संघका गण्डकी प्रदेश अध्यक्ष हरिराज पन्तले श्रेष्ठलाई प्रदेशको तदर्थ कार्यसमितिको महासचिवमा…

पोखरा लेडी जेसिजको नेतृत्वमा नन्दकुमारी

पोखरा, ७ मंसिर । महिला नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक सेवामा सक्रिय पोखरा लेडी जेसिजको वर्ष २०२७ का लागि नयाँ नेतृत्व चयन भएको छ। संस्थाको ३३औँ शाखा…

तिखेढुङ्गामा प्रशासनिक र स्वास्थ्य पूर्वाधार थपियो, १ करोड २० लाखका दुई भवन उद्घाटन

पोखरा । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गामा वडा कार्यालयको नवनिर्मित भवन र हिले स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । दुवै भवनको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन…

विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शोभामोहन पौडेल निर्विरोध निर्वाचित

पोखरा । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल निर्विरोध निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको शनिबार सम्पन्न पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ…

‘मृत्युको मुखबाट फर्कियौँ, जेनजीले नै बचाए’ : शेरबहादुर देउवा

‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर…

लायन्स क्लबको पाँच दशक : सम्मान, सेवा र सामाजिक उत्तरदायित्वको स्वर्णिम यात्रा

सभामुख अर्यालको जोड : निजी क्षेत्र बलियो र सुशासन कायम नभएसम्म समृद्धि सम्भव छैन पोखरा । पाँच दशकअघि सामाजिक सेवाको उद्देश्यसहित पोखरामा सुरु भएको लायन्स अभियानले शिक्षा, स्वास्थ्य,…