
पोखरा । पूर्वयुवराज पारस शाह पोखरामा देखिएपछि विवाह समारोहमा सहभागी जन्ती तथा पाहुनाको ध्यान उनीतर्फ केन्द्रित भएको छ । पोखराको अमरसिंह चोकस्थित सफल पार्टी प्यालेसमा आयोजित एक विवाह समारोहमा सहभागी हुन पुगेका पारससँग फोटो खिचाउनेको भीड नै लागेको थियो ।
नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ कास्कीका पूर्वअध्यक्ष सुवास कोइरालाकी छोरी आयुषा कोइरालाको विवाह समारोहमा सहभागी हुन पारस पोखरा आएका हुन् ।
आयुषा नेपाली कांग्रेसका नेता राजेन्द्रनिधि कोइरालाकी नातिनी तथा बीपी कोइरालाका समकालीन कास्की कांग्रेसका तत्कालीन नेता करुणानिधि कोइरालाकी पलातिनी हुन् ।
कोइरालाले पारसलाई विवाह समारोहमा विशेष निमन्त्रणा गरेका थिए । आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै पारस विवाहमा सहभागी हुन पोखरा आएको युवा नेता सुवास कोइरालाले बताए । ‘मैले गरेको निमन्त्रणालाई स्वीकार गरेर उहाँ पोखरा आउनुभएको हो,’ कोइरालाले भने ।
पार्टी प्यालेसको हलमा पारस आफ्ना निकट केही साथीहरूसहित प्रवेश गर्नेबित्तिकै उनीसँग तस्बिर खिचाउनेको भीड लागेको थियो । विवाहमा सहभागी सयौँ जन्ती तथा पाहुनामध्ये धेरैको आकर्षणको केन्द्र पारस बने । उनीसँग फोटो खिच्न र नजिकबाट भेट्न चाहनेहरूको उत्साह देखिन्थ्यो ।
राजपरिवारसँग जोडिएका व्यक्तिहरू सार्वजनिक समारोहमा उपस्थित हुँदा सर्वसाधारणको चासो र आकर्षण अझै कायम रहेको विवाह समारोहको दृश्यले देखाएको थियो ।
पारस शाह निकट पोखराका गोपाल गुरुङका अनुसार उनी साथीभाइसँगै दुई–तीन दिन पोखरामै बस्नेछन् ।
समारोहमा सहभागी एक महिलाले पारसको व्यवहार र प्रस्तुतिमा आएको परिवर्तनले आफूलाई प्रभावित बनाएको प्रतिक्रिया दिइन् । ‘उहाँ त निकै बदलिनुभएको रहेछ । कति हँसिलो देखिनुभएको, सबैलाई नमस्कार गर्दै हिँड्नुभएको थियो,’ उनले भनिन् ।












