छोम्रोङमा एक करोडको लागतमा गुम्वा तथा स्पूत निर्माण
- March 2, 2023
- 3024

पोखरा भ्यूज
१८ फागुन, पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ स्थित छोम्रोङमा बौद्ध गुम्वा तथा स्तूप निर्माण गरिएको छ । करिब एक करोडको लागतमा उक्त गुम्बा तथा स्तूपको निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका अध्यक्ष नरजरमान गुरुङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाबाट १० लाख, छाम्रोङ आमा समूहबाट ५ लाख ११ हजार, छोम्रोङ होटल व्यवस्थापन समितिबाट ३ लाख ५५ हजार नगद सहयोग प्राप्त भएको थियो ।
त्यस्तै घान्द्रक जन्मस्थल भई हाल रोजगारीको शिलशिलामा बेलायत, हङकङ, जापान लगायतका देशहरुमा रहेका चन्दादाताहरुबाट प्राप्त रकमबाट गुम्बा तथा स्तूपको निर्माण कार्य सम्पन्न भएको हो ।
गुम्बा तथा स्तूप निर्माणमा स्थानीय धर्म गुरु गुप्ती गुरुङको निर्देशनात्मक भूमिका थियो । ‘गुम्बा तथा स्तूपको डिजाइन लगायतका सम्पूर्ण निर्माणको काम धर्म गुरु गुप्ती गुरुङको निर्देशनमा भएको हो,’ निर्माण समितिका अध्यक्ष नजरमानले भने ।

आउँदो मंगलबार पूर्णिमा तिथिको अवसर पारी उक्त गुम्बा तथा स्तूपको उद्घाटन गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतमा गुम्बा तथा स्तूपको उद्घाटन गर्ने कार्यक्रम तालिका छ ।
यसैबीच उद्घाटन समारोह हुनुपूर्व उक्त गुम्बा तथा स्तूपको प्राण–प्रतिष्ठा अर्थात् शुद्धिकरण पूजा शुरू गरिएको छ ।

तीन दिनसम्म चल्ने शुद्धिकरण पूजाको नेतृत्व धर्म गुरु गुप्ती गुरुङले गरेका छन् । शुद्धिकरण पूजा सकिए लगत्तै उद्घाटन कार्यक्रम शुरू हुने निर्माण समितिका अध्यक्ष गुरुङले बताए । प्राण प्रतिष्ठा पूजा आरम्भ गर्नुअघि गुम्बा तथा स्तूप सिंगारिएर चटक्क पारिएको छ ।
अन्नपूर्ण आधार शिवर पदयात्रा मार्गमा निर्माण भएको उक्त गुम्वा तथा स्तूपको नाम पल ङाघ्युर डाकर नमघ्यल छ्योइलीङ राखिएको छ । यस गुम्बा तथा स्तूपको निर्माणबाट यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने स्थानीयले विश्वास लिएका छन् ।







सम्बन्धित खवर


















