
दमौली, वैशाख २ । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन बाम लोकतान्त्रिक गठवन्धनले अपिल गरेको छ । गठवन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनको विकल्प नभएको बताएको छ ।
नेपाली काङ्ग्रेसका सभापति जीतप्रकाश आले , नेकपा माओवादी केन्द्रका ओमराज आले , नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङले संयुक्त रूपमा प्रकाशित गरी जिताउन अपिल गरेका हुन् । विज्ञप्तिमा जनाइए अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने उल्लेख गरिएको छ । ‘सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा , स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपिल गर्दछौं विज्ञप्तिमा भनिएको छ । नेपाली जनताको समृद्धिको लागि वर्तमान बाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार वैशाख १० गतेको निर्वाचनको लागि गोविन्द भट्टराईलाई लिएर आएका छौं भनि जनाईएको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकोले उहाँलाई विजयी गराउनुहुन अनुरोध गर्दछौं, गठवन्धनले अपिल गरेको छ ।
बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठवन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग , लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरि विजयी गराउन आब्हान गरेसँगै भट्टराईलाई चुनावमा सहज ठानिएको छ ।
गठबन्धन नेताहरुको सक्रियता
गठबन्धनका नेताहरु भट्टराईलाई विजयी गराउन स्थानीयस्तरमा सक्रिय भएर लागेका छन् । माओवादी केन्दका नेता हरिबहादुर चुमानदेखि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ तथा प्रतापलाल श्रेष्ठसम्म सक्रिय भएर लागेका छन् ।
स्थानीय कमिटी परिचालनका लागि माओवादी केन्द्र महासचिव देव गुरुग पनि तनहुँ आउँदैहुनुहुन्छ। यस क्षेत्रबाट यसअघि विजयी नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ पनि चुनावी माहोल बनाउन दमौली आउनु हुने भएको छ ।











