
दमौली, २ वैशाख । यसैबीच तनहुँ मूलथलो भएका बुद्धिजिवीहरुको दमौलीमा सम्पन्न भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ । तनहुँ उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भेलामा सहभागीले तनहुँको स्थानीय विकास नै यहाँका नागरिकको प्राथमिकता भएको भन्दै त्यसलाई अघि बढाउन भट्टराई नै सक्षम पात्र भएको निष्कर्ष निकालेर सो निर्णय गरेको हो ।
निष्ठाको राजनीति गरेका र पदमै नरहेर पनि तनहुँको खानेपानी, विद्युत र बाटोघाटोमा योगदान भट्टराईले दिएका भन्दै नेतृत्वमा गएमा आफूहरुले उनीमार्फत नै विकासको मार्गचित्रमा सघाउने प्रतिवद्धता जनाए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराई राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताउनुभयो । भट्टराई विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता व्यक्त गर्नुुभयो । कार्यक्रममा ,शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, कर्मचारी, डाक्टरलगायतका ठुलो संख्यामा बुद्धिजीवीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजकर्ता डा.शेषरमण न्यौपानेले जानकारी दिनुभयो ।











