
दमौली, ३ वैशाख । लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पाटीका नेताहरु समेत तनहुँमा आएका छन् । केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ–१ को उपनिर्वाचन रोचक बनेको छ । भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार दमौली आउनु भएको छ । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’’ सांसद श्रेष्ठले भन्नुभयो । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले घर साङ्लेले र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गर्नुभयो । श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुनुहुन्छ ।
नेपाली कांग्रेसद्धारा दुई जनालाई पार्टी सदस्यताबाट निष्कासन
नेपाली कांग्रेस तनहुँले दुई जनालाई पार्टीको साधरण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ । यही बैशाख १० मा हुने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार विरुद्ध प्रचार प्रसारमा लागेको पाइएकोले निष्कासन गरेको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति केशबहादुर सुनारले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्त, वडा नम्बर ३ निवासी क्रियाशिल सदस्य राजु दाहाललाई निष्कासन गरिएको सुनारले बताउनुभयो । वैशाख २ गतेको निर्णय अनुसार निष्कासित गरेको कांग्रेस तनहुँले सूचित गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको) दफा ३४ (४) (ख) बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरिएको आईतबार प्रकाशित विज्ञप्तीमा जनाईएको छ । कांग्रेस तनहुँले उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसका पूर्व सचिव तथा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलको संयोजकत्वमा अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको छ ।

तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन बाम लोकतान्त्रिक गठवन्धनले अपिल
गठवन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनको विकल्प नभएको बताएको छ । नेपाली काङ्ग्रेसका सभापति जीतप्रकाश आले , नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङले संयुक्त रूपमा प्रकाशित गरी जिताउन अपिल गरेका हुन् ।
विज्ञप्तिमा जनाइए अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने उल्लेख गरिएको छ । ‘सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा , स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपिल गर्दछौं विज्ञप्तिमा भनिएको छ । नेपाली जनताको समृद्धिको लागि वर्तमान बाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार वैशाख १० गतेको निर्वाचनको लागि गोविन्द भट्टराईलाई लिएर आएका छौं भनि जनाईएको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकोले उहाँलाई विजयी गराउनुहुन अनुरोध गर्दछौं, गठवन्धनले अपिल गरेको छ ।
बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठवन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग , लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरि विजयी गराउन आब्हान गरेसँगै भट्टराईलाई चुनावमा सहज ठानिएको छ ।











